गोरखा क्याम्पसको जग्गा दलालको कब्जामा, धमाधम घडेरी प्लटिङ गरिँदै


नेपाल समाचारपत्र, गोरखा  ।  देशैभरी विभिन्न सार्वजनिक सम्पत्ती ब्यक्तिको नाममा पारेको समाचारहरु देख्दै सुन्दै आइरहेकै हो । गोरखामा पनि त्यस्तै भएको छ । जग्गा दलालहरुको समुहले गोरखा क्याम्पस गोरखाको जग्गा मिचेर जग्गा प्लटिङ गरेर धमाधम घडेरी बनाईरहेका छन् । गोरखा नगरपालिका वडा नम्वर ५ हिले पोखरीस्थित क्याम्पसको करिब एक रोपनी जग्गा दलालहरुले मिचेर घडेरीका लागि प्लटिङ गरेको क्याम्पस प्रमुख विकास कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

‘क्याम्पसको जग्गामा तारबार लगाउने काम भइरहेको छ,’ उहाँले भन्नुभयो– ‘अलिकति बाँकी थियो । त्यहीबाँकी जग्गाबाट उनीहरुले सडक लगेछन् । विश्वविद्यालयको सम्पत्ती दोहोन गर्न कहाँ पाइन्छ ?’ गोरखा क्याम्पसको नाममा हिलेपोखरी क्षेत्रमा ७० रोपनी भन्दा बढी जग्गा छ । जग्गा ब्यवसायीहरुले क्याम्पसको जग्गाको आडैमा प्लटिङ थालेकोप्रति क्याम्पस प्रशासनले असन्तुष्टि जनाएको छ । सो क्रममा प्लटिङ स्थलसम्म सडक जोड्नका लागि क्याम्पसको जग्गा मिचिएको छ ।

‘शुरुमा त जग्गा दिनुप¥यो भनेका थिए, हामीले मिल्दैन भन्यौं, पछि त हामीलाई जानकारी पनि नगराई सडक खनेछन’ क्याम्पस प्रमुख श्रेष्ठले भन्नुभयो, ‘हामीले स्थानीय सरकारलाई यसबारे मौखिक जानकारी गराइसकेका छौं । अब विधिवत रुपमा कारबाहीको लागि थप प्रक्रिया अघि बढाउँछौं ।’ क्याम्पसले गोरखा नगरपालिकाको २० लाख रुपैया सहयोगमा जग्गामा तारबार गर्ने काम शुरु गरेको छ ।

सडकको वाल पनि भत्काए
क्याम्पसको जग्गामा सडक निर्माण गरेर प्लटिङ गरेको दलालहरुको समुहले हिलेपोखरी–छेपेटार सडक खण्डमा लगाइएको रिटेनिङवाल समेत भत्काइदिएका छन् । वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु श्रेष्ठले भन्नुभयो, ‘सडकको भित्तामा लगाइएको ४ मिटर चौडाई र ६ फिट उचाईको पर्खालनै भत्काएर उनीहरुलाई चाहिने सडक बनाएछन् । मलाई पनि थाहा थिएन, गाऊँका मान्छेहरुले खबर गरेपछि हेर्न गएको, पर्खाल, नाली सबै भत्केको छ ।’

उक्त सडक गण्डकी सरकारको सहयोगमा स्तरोन्नती भएको हो । क्याम्पसको जग्गा मिचेर प्लटिङ गरेको र सडक भत्काइएको पाइएपछि वडा अध्यक्ष श्रेष्ठको पहलमा प्लटिङको काम रोकिएको छ । ‘सोमवार आफैं गएर काम रोक्न लगाएको हुँ,’ उहाँले भन्नुभयो ‘वडा कार्यालय को सम्पर्कमा आउनु भनेको छु, अझै आउनुभएको छैन ।’

जग्गा प्लटिङ गर्ने समूहका एक सदस्य राजेन्द्रकुमार श्रेष्ठले सडकमा क्षति पुगेको स्वीकार्नुभयो । ‘सडकको पर्खाल भत्किएकै हो, त्यो हामी बनाइदिन्छौं’, उहाँले भन्नुभयो– ‘क्याम्पसको जग्गा मिचिएको बारे थाहा भएन, मिचिएको रहेछ भने फिर्ता भइहाल्छ ।’ तर स्थानीय बासिन्दाले भने आफूहरुले पटकपटक आग्रह गर्दा पनि ब्यबसायीहरुले सडकको पर्खाल भत्काएर र क्याम्पसको जग्गा मिचेर डोजर चलाएको दाबी गरेका छन् ।