भेरी नदीको उच्च जोखिममा रजेला बस्ती

सुरक्षित स्थानमा सारिदिन स्थानीयको आग्रह


धनवीर दाहाल, रुकुम । सानीभेरी गाँउपालिका वडा नं १ रजेलाका चित्रबहादुर आले मगरको परिवार रातभर घर बाहिर बस्नुपर्ने बाध्यता छ । बर्षातको समयमा पनि घर भित्र आनन्दले बस्न नसक्नु बाढीको त्रास हो । भेरी नदीले बस्ती कटान गर्न थालेपछि उहाँ लगायत रजेला बस्ती उच्च जोखिममा रहेको छ । रुकुम पश्चिम सानीभेरी गाउँपालिका–१ को रजेला वस्ति भेरी नदिको उच्च जोखिममा रहेपछि स्थानीय त्रासपुर्ण वातावरणमा बस्न बाध्य भएका हुन् ।

मध्यपहाडी लोकमार्गको छेउमा रहेको रजेला वस्ती तथा आसपासका खेतहरु नदिले कटान गर्न थालेपछी रजेला बासी चिन्तित बनेका छन । सानीभेरी नदी र ठुलीभेरी नदि मिलेर बनेको भेरी नदीको बहाव आफ्नो बस्ति तिर मोडिदा रातिमा निन्द्रा समेत लाग्न छाडेको स्थानीय आलेमगरले बताउनुभयो । “हाम्रो अन्तै जाने र बस्ने कुनै ठाउँ छैन नदिले जग्गा जमिन र घर सबै लिन आँट्यो” – चित्रबहादुरले भन्नुभयो “धेरै जमिन नदिले कटान गर्दै घरहरु सम्म पुग्न थालिसक्यो सुकुम्बासी भइने हो कि भन्ने डर छ ।”

निर्माणाधिन मध्यपहाडी लोकमार्गमा आवश्यक पर्ने गिट्टी, बालुवा र ढुंगा ठेकेदार कम्पनीले उठाउदा नदी आफ्नो बस्ति तिर ढल्किएको रजेलाबासीको आरोप छ । ठेकेदार कम्पनीले गिट्ठी बालुवा निकालेका कारणले नदि बस्ति तिर आएको र डोजर प्रयोग गरी नदी अर्काे क्षेत्रमा ढल्काउन रजेला बासीले आग्रह गरेको वडा अध्यक्ष टेकबहादुर पुनले बताउनुभयो । सोही आग्रह अनुसार कम्पनीले डोजर लिएर नदी ढल्काउने प्रयास गरेपनि पानीको बढ्दो बहाबका कारण ढल्काउन नसकेको वडा अध्यक्ष पुनको भनाई छ ।

नदी कटान रोक्न यो भन्दा पहिले नै तटबन्धन निर्माण गरिएको भएता पनि सानो खालको तटबन्धन भएकाले नदिलाई छेक्न सकेको छैन । नदि कटान रोक्ने प्रयास पछी कर्णाली प्रदेश सरकारबाट रु १ करोड बिनियोजन गरीएको वडा अध्यक्ष पुनले बताउनु भयो । तटबन्धनका लागि रकम बिनियोजन त गरियो तर तुरुन्त काम अघि बढाइएन भने यस वर्षको वर्षामै नदिले वस्ती बगाउने जोखिम देखिएको पुनको भनाई छ । करिब २ रोपनी खेत नदिले बगाएपछी करिब १ विगाहा जग्गा नदिले कटान गर्ने डरले धान नै नरोपेर जग्गा बाझो राख्ने बाध्यता रहेको रजेला बासीको भनाई रहेको छ ।