सभामुखको पाकेटमार हिरासतबाटै फरार


बारा, (नेस) ।
प्रदेश नम्बर २ का सभामुख सरोज यादवको पकेटमारेको आरोपमा पक्राउ परेका एक युवक बाराको सिमरौनगढ इलाका प्रहरी कार्यालयको हिरासतबाट बुधबार फरार भएका छन ।

गत साउन ३ गते आफनो गाउँस्थित सिमरौनगढ हाट बजारमा गएकोबेला सभामुख यादबको ५० हजार रुपैया पकेटमारी लगेको आरोपमा पक्राउ परेका भारत मोतिहारी जिल्ला लिपनी–४ का स्थायी बासिन्दा १९ वर्षीय फिरोज मियाँ प्रहरीको हिरासतबाट भागेका हुन । मियाँ साउन ३ गते पक्राउ परेका थिए ।

बाराका डीएसपी रञ्जित राठौरले मेसमा खाना खान लगिएको बेला मियाँ पर्खाल नाघेर फरार भएको बताउनुभएको छ । बजारको भिडमा स्थानीयहरुसँग गफ गरिरहेको बेला युवकले कुर्ताको पकेटमा रहेको रकम झिकेर लगेको सभामुख यादवले बताउनुभयो ।

सँगै रहेका अर्का युवकले पकेटको पैसा झिकेको देखेपछि भाग्दै गरेका मियाँलाई स्थानीयले तत्काल समातेर प्रहरीमा बुझाएका थिए । सभामुख यादवले आफू हाट बजारमा घुम्न जाँदा त्यहाँ कुनै सुरक्षाकर्मी नदेखिएको र पकेटमारलाई नियन्त्रणमा लिएर खबर गर्दा पनि त्यहाँको प्रहरीले वेवास्ता गरेको दाबी गर्नुभयो ।