धर्म परिवर्तन गराउँदै हिँड्ने ३ विदेशी पक्राउ


नेपाल समाचारपत्र, कास्की । धर्मप प्रचार–प्रसार गर्दै हिँडेका तीन जना विदेशीलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । इसाई धर्मको प्रचार गर्दै हिँडेका २ जापानी नागरिक र १ कोरियाली नागरिकलाई वडा प्रहरी कार्यालय बैदामको टोलीले नियन्त्रणमा लिएको हो ।

पोखराको रत्नचोकस्थित धर्म प्रचारप्रसार गरिरहेको अबस्थामा जापानी नागरिक रैको सेकिया र जायरो सेकियालाई प्रहरीले नियन्त्रणमा लिएको हो । त्यस्तै पोखरामै धर्मप्रचार गर्दै हिँडेका कोरियाली नागरिक चो योसाङलाई पनि कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।

तीन वर्षदेखि पोखरा बसेर धर्मप्रचार गरिरहेका जापानी नागरिकसँगै कोरियाली नागरिकलाई जिल्ला अदालत कास्कीबाट म्याद थप गरी थप अनुसन्धानको प्रक्रिया अघि बढाइएको कास्की प्रहरी प्रवत्ता तथा डिएसपी राजकुमार केसीले जानकारी दिनुभयो । प्रहरीले उनीहरुलाई गत सोमबार पक्राउ गरेको थियो । उनीहरुको कोठाबाट केहि थान बाइबल समेत प्रहरीले बरामद गरेको छ ।
कुनै पनि व्यक्तिको धर्म परिवर्तन गराउने वा त्यसमा खलल पार्ने गतिविधि गर्न नहुने संविधानमा उल्लेख छ ।

यसैबीच कास्की प्रहरीले बालयौन दुराचारको आरोपमा एक विदेशीलाई नियन्त्रणमा लिएको छ । पोखरामा प्याराग्लाइडिङ उडान भर्ने अष्ट्रेलियन नागरिक थोमस अल्फ्रेड बेरिम्यान बालयौन दुराचारको आरोपमा पक्राउ परेका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र कास्की प्रहरीको संयुक्त टोलीले थोमस बस्ने घरमा अनुसन्धान गर्दा अप्राकृतिक यौन क्रियाकलाप गर्दै गरेको अवस्थामा दुई बालकसहित नियन्त्रणमा लिएको थियो । प्रहरीले उनको कोठामा रहेको १४ वर्ष भन्दा कम उमेरका दुई वालकहरुको उद्धार गरेको छ ।

थोमस कामदार भिसामा नेपाल आई तीन वर्षयता पोखरामा प्याराग्लाइडिङ पाइलटका रुपमा काम गर्दै आएका थिए । थोमसविरुद्ध मंगलबार नै जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।