घरघरमा मोबाइल चोरी गर्ने टोली पक्राउ


नेपाल समाचारपत्र, धादिङ ।
विगत तिन महिना अघिदेखि धेरै मानिसले आफ्नो मोवाइल हराइरहेको, घरमा राखिएको सामाग्रीहरु हराए तर कसरी हराएको भन्ने प्रहरीमा जाहेरी नपरे पनि सूचना आइरहेको थियो । प्रहरीले यसबारे सूचना संकलन गरिरहेको थियो ।
सदरमुकाम स्थित नीलकण्ठ नगरपालिका–३ एमालेचोकका चोकनारायण श्रेष्ठले असार ९ गते आफ्नो मोबाइल हराएकोले जिल्ला प्रहरी कार्यालय धादिङमा सामान खोजी गर्न निवेदन दिनुभएको थियो ।

श्रेष्ठको निवेदन र प्रहरीको सूचनाको आधारमा समूह नै चोरीमा संलग्न भएको भन्ने जानकारी पछि प्रहरीले एमाले चोकमा डेरा गरी बस्ने निसान सुन्दासको कोठा छापा मार्यो ।

प्रहरीले कोठा छापामारेपछि बल्ल थाहा पायो कि उनिहरु त पेसेवर चोरको समूह रहेछ । घटनापछि प्रहरीले नीलकण्ठ नगरपालिका वडा न.ं ४ का २० वर्षीय सुजन ठकुरी, १८ वर्षीय किशान श्रेष्ठ र २० वर्षिय निशान सुन्दासलाई पक्राउ गरि हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

घर घरमा गएर मोवाइल, गहना, कचौरालगायतका सामग्रीसहित प्रहरीले बुधबार जिल्ला प्रहरी कार्यालयका पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । बिभिन्न ब्राण्डका १२ थान मोबाइल, २ वटा खुकुरी, २ वटा ढलौटको लोटा, १४ ओटा ढलौटको कचौरा, चोरी गर्नमा प्रयोग गरिएको फलामको हम्मर, रेन्ची, लाइटर, सुनजस्तै देखिने मंगलसूत्र र माला उनिहरुको साथबाट प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक राजकुमार वैदवारले बताउनुभयो ।

तीन जनाको समूह मिलेर चोरी गर्ने बेलामा एक जनाले बाहिरी वातावरण हेर्ने, २ जना घरभित्र पसेर चोरी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुलाई जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको र धारिलो हतियार नै बोकेर हिडेको समूह भएकोले उनिहरुबारे थप अनुसन्धान गरिरहेको बैदवारको भनाइ छ ।