पहिरोमा ज्यान गुमाउनेको संख्या १२ पुग्यो


अनिल खत्री, गुल्मी ।
सत्यवति गाउँपालिकाका दुई स्थानमा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । अझै एक जना बेपत्ता छन् । सत्यवति गाउँपालिका–४ को लिम्घामा पहिरोमा बेपत्ता भएका डेढ बर्षीय बालक सञ्जु विक र वडा नं ३ को ठुलोलुम्पेकमा पहिरोमा बेपत्ता माया र बवि विकको शव बुधबार साँझ फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलले बताउनु भयो ।

लिम्घामा मंगलबार निर्मला विक, पम्फा विक, अञ्जली विक, हिमान्सु विक, छलि विक र सिवानी विक तथा ठुलोलुम्पेकमा तिल कुमारी र छोरा दर्शन तरामु मगर तथा दुर्गा बहादुर सिंजालीको शव फेला परेको थियो । पहिरोमा घाइते भएका ठुलोलुम्पेकका करिष्मा र धनी तरामुलाई दुई दिन पछि परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले हेलिकप्टर मार्फत उपचारको लागि काठमाण्डौ लगिएको शसस्त्र प्रहरी प्रहरी नायव उपरिक्षक दिनेश रायमाझीले बताउनु भयो ।

लिम्घामा अझै सात बर्षीय तारा विक बेपत्ता छन् । पहिरो प्रभावित क्षेत्रमा सडक अबरुद्ध भएपछि बुधबार साँझ हेलिकप्टर मार्फत केहि राहत पहिरो प्रभावित क्षेत्रमा पठाएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनु भयो । सडकको कुनै बिकल्प नभएपछि हेलिकप्टरले २० क्विन्टल चामल, दुई क्विन्टल दाल र एक क्विन्टल चिउरा ठुलोलुम्पेकमा छोडेको पौडेलले बताउनु भयो ।

उहाँले मन्त्रीहरुसंग सल्लाह गरेर बिपत व्यावस्थापन महाशाखा मार्फत हेलिकप्टरले पोखराबाट राहत लिएर आएको बताउनु भयो । मंगलबार पनि परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्दै लिम्घामा केहि राहत र व्यावस्थापनका सामग्री हेलिकप्टर मार्फत छाडेर गएका थिए ।
पहिरो प्रभावित क्षेत्र सत्यवति गाउँपालिकाका सडकहरु अबरुद्ध हुँदा राहत वितरणमा समस्या देखिएको छ । मौसमका कारण सडक अवरुद्ध हुँदा स्थल मार्गबाट राहत वितरणमा समस्या थपिदै गएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनु भयो ।

पहिरोले सवैभन्दा वढि मानवीय क्षति भएको वडा नं ४ लिम्घा पुग्ने सडक अबरद्ध छ । जसका कारण मंगलबार उद्धारमा पुग्ने सुरक्षाकर्मी, सरकारी तथा गैरसरकारी संघ, संस्था र रिर्पोटिङ्ग गर्ने पत्रकार साढे दुई घण्टा पैदल हिडेर घटनास्थल पुगेका थिए ।

राहत बोकेर हिडेका गाडीहरु शाहाघाट र रुद्रवेणीमै दुई दिनदेखि रोकिएका छन् । पहिरोले ठुलो मानवीय तथा भौतिक क्षति पु¥याएपछि दुई स्थानका करिव ६ सय घरपरिवार सुरक्षित स्थानमा सारिएको छ । सत्यवति गाउँपालिका वडा नं ३ ठुलोलुम्पेकको सिङ्गदी गाउँनै पहिरोको उच्च जोखिममा रहेको छ ।

लुम्पेककै अन्य वस्ति पनि पहिरोको खतरामा रहेकाले करिव ४ सय जनालाई घरडाँडा, अस्लेवा रामबारी, धर्मपुर मावि, ढुङ्गाचाल्ने, भानु प्रावी र धर्मपुर प्राविमा व्यावस्थापन गरेको उद्धारमा खटिएका सशस्त्र प्रहरी नायव उपरिक्षक दिनेश रायमाझीले बताउनुभयो । वडा नं ४ लिम्घामा पनि दुई सय घर परिवारलाई सरस्वति माविमा व्यवस्थापन गरिएको छ ।

अन्य जोखिम भएका गाउँका परिवार समेत पानी परेपछि राति नै घर छोडर आएका छन् । प्रभावित क्षेत्रमा थप उपचारमा खटिएकी डाक्टर शिला ढकालले घाइतेहरुलाई थप उपचारमा काठमाडौं पठाइएपछि अरु थप समस्या तत्काल नरहेको बताउनु भयो । प्रभावित क्षेत्रमा ३ सय बढी पशु चौपायाहरु मरेको अनुमान छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।