आज पुष्पलाल श्रेष्ठको स्मृति दिवस मनाइँदै


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक तथा महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

पुष्पलाल श्रेष्ठले २००६ सालमा निरञ्जनगोविन्द वैद्य, नारायणबिलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसहितको नेपाल कम्युनिष्ट पार्टी गठन गर्नु भएको थियो । भारतको कोलकातामा पार्टी गठन भएको हो । विक्रम सम्वत १९८१ मा रामेछापको भंगेरीमा पिता भक्तलाल र माता तुलसीकुमारीका माइला छोराका रुपमा जन्मनु भएका पुष्पलाल प्रजातान्त्रिक आन्दोलनका शहीद गंगालालका भाई हुनुहुन्छ ।

प्रजातन्त्रको पुनःस्थापना गर्न कम्युनिष्ट र कांग्रेस मिल्नु पर्छ भन्ने विचारका नेता पुष्पलाललाई दूरदर्शी नेताका रुपमा स्मरण गरिन्छ । उहाँकै विचार अनुसार कम्युनिष्ट र कांग्रेस मिलेपछि देशमा प्रजातन्त्र पुनर्बहाली भएको हो । पुष्पलालले गठन गर्नुभएको पार्टी नेकपा विगतमा अनेक चिरामा विभक्त भए पनि पुनः एकीकरण भएर नेकपा बनेको छ ।

संसदमा सुविधाजनक बहुमतका साथ सरकार सञ्चालन गरिरहेकाले पुष्पलालका सपना साकार भएको विष्लेषण गरिएको छ ।