कांग्रेस बैठक बिहीबार


नेपाल समाचारपत्र, काठमाडौं ।
नियमावली मस्यौदा पारित गरी स्थगित भएको काग्रेस केन्द्रीय समिति बैठक पर्सि बिहीबार बस्ने भएको छ । आज मंगलबारको लागि निर्धारण गरेको बैठक दुईदिन पर धकेलिएको हो ।

बैठकमा विधानअनुसारको संगठन निर्माण गरी १४औं महाधिवेशन प्रक्रिया अघि बढाउने, भातृ एवं शुभेच्छुक संघसंस्थाको विधान संशोधन र मान्यता प्रदान गर्ने लगाएत अन्य महत्वपुर्ण विषयहरुको छलफल गरि निर्णय गर्ने एजेण्डा थियो । बीपी स्मृति दिवसको कार्यक्रममा सहभागी हुन केन्द्रीय सदस्यहरु जिल्ला–जिल्ला जानुपर्ने भएकोले बैठक दुईदिन पर धकेलिएको प्रवक्ता विश्व प्रकाश शर्माले बताउनुभएको छ ।

काग्रेस बैठकमा संशोधित विधान अनुसार क्रियाशिल सदस्यता नविकरण एवं वितरण, पहिलो चरणको देशव्यापी जागरण अभियानको समिक्षा सहितको एकिकृत प्रतिवेदन पेश गर्ने, केन्द्रिय अनुशासन समितिको कार्यप्रगति पेश गर्ने, केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्धारा प्रगति विवरण प्रस्तुत गर्ने लगाएतका एजेण्डा पनि छन् ।

नेताहरू बीपी स्मृति दिवसको कार्यक्रममा जानुपर्ने भएकाले बैठक दुई दिन पर धकेलिएको हो।

काग्रेस भित्र तत्काल तल्लो तहको महाधिवेशन गर्न देशभरका कार्यकर्ताबाट दबाब छ । काग्रेसको संघीय संरचना अनुसार संगठन छैन । भदौको तेस्रो साता शुरु हुने दोस्रो चरणको देशव्यापी जागरण अभियान शुरु हुनु पहिले नै विधान अनुसारको सबै संरचना बनाईसक्ने बताउदै आएको काग्रेस भित्र यो बैठकलाई विशेष चासोका साथ हेरिएको छ ।

आधिकारिक उम्मेदवारविरुद्ध लाग्ने २३ लाई कारबाही
कांग्रेस केन्द्रीय अनुशासन समितिले गत निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध वागी उम्मेदवार बनेका, प्रस्तावक एवं समर्थक बसेका तथा अन्य पार्टीमा गई उम्मेदवारी दिएका २३ नेता तथा कार्यकर्तालाई कारबाही गरेको छ ।

अनुशासन समिति कारबाही गरिएको बागी उम्मेदवार, प्रस्तावक, समर्थक तथा अन्य पार्टीमा गई उम्मेदवार बनेका सबै तहका नेता तथा कार्यकर्ताकोलाई पार्टीको अभिलेखबाट हटाउन समेत सम्बन्धित जिल्लालाई निर्देशन दिएको छ ।

अनुशासन समितिले त्यस्ता बागी, निजका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकाहरुको नामावली केन्द्रीय अनुशासन समितिमा पठाउन बाँकी जिल्लाहरुलाई तत्काल नामावली पठाउन समेत निर्देशन दिएको अनुशासन समितिका संयोजक भीष्मराज आङदेम्बेले जानकारी दिनुभएको छ ।

कारबाहीमा परेका २३ मध्ये सबै स्थानीय तहका छन् । अनुशासन समितिले २०७४ सालमा सम्पन्न स्थानीय, प्रदेश र संघ तीनै तहका वागी उम्मेदवार उनिहरुको प्रस्तावक समर्थक र तीनै तहको निर्वाचनमा अन्य पार्टीमा गई उम्मेदवार बन्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने जनाएको थियो ।