ट्राफिक नियम उल्लंघनका घटनामा वृद्धि


बैतडी, (नेस) ।
बैतडीमा ट्राफिक नियम उल्लंघनका घटनाहरु बढ्दै गएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीको दुई बर्षको तथ्यांकले ट्राफिक नियम उल्लंघनका घटनाहरु बढेको देखाएको हो ।

आर्थिक बर्ष २०७४÷०७५ मा २ हजार ३६५ सवारी कार्वाहीमा परेकामा गत आर्थिक बर्ष २०७५÷०७६ मा त्यो संख्या बढेर ३ हजार ४२ पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रहरी सहायक निरीक्षक आकाश रावलले जानकारी दिनुभयो ।

आर्थिक बर्ष २०७४÷०७५ मा ट्राफिक .नियम उल्लंघन गर्ने सवारीमा १ हजार ३ सय ७६ जिपकार, ४ सय ५८ ट्रक, २ सय ६३ मोटरसाइकल, २ सय ५ ट्याक्टर र ६३ बस रहेका छन् । यस्तै गत आर्थिक बर्ष २०७५÷०७६ मा १ हजार ९ सय ९५ जिपकार, ४ सय ३१ ट्रक, ३ सय १८ मोटरसाइकल, २ सय २१ ट्याक्टर, ७५ बस र २ अन्य सवारी साधन कार्वाहीमा परेका छन् ।

यसैबीच ट्राफिक नियम उल्लंघन कार्वाहीमा परेर आर्थिक बर्ष २०७४÷०७५ मा १३ लाख ४४ हजार ५ सय राजश्व संकलन भएको थियो भने गत आर्थिक बर्षमा १७ लाख २ हजार ५ सय राजश्व संकलन भएको छ ।

ट्राफिक प्रहरीले क्षमताभन्दा बढी मालसमान बोक्ने, हेल्मेट नलगाए, आवागमनमा बाँधा गरेमा रु ५००, सवारी दुर्घटना, लाइसेन्स नबोकेको, मापसे गरेमा १ हजार र नम्बर प्लेट नभएमा, सिटबेल्ट नबाधेमा, हेलमेटको फिता नबाधेमा, कुनै पनि कागजपत्र नबोकेमा १ हजार ५ सय रुपैंया लिने गरेको छ ।