अव बिकासको बिकल्प छैन: ज्ञवाली


काठमाडौ(नेस) । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले सबै राष्ट्रसँग सन्तुलित सम्बन्ध राखेर आर्थिक विकासतर्फ अघि बढ्ने नीति अवलम्बन गरेको बताउनुभएको छ ।

प्रवास चौतारी नेपालले आयोजना गरेको ‘नेपालको परराष्ट्रनीति–अर्थतन्त्रमा श्रम, समाज र संस्कृति’ विषय गोष्ठीमा बोल्दै उहाँले चीन र भारतजस्ता विकसित देशको बीचमा रहेर नेपाल सधैँ अविकसित रहनु दुखदायी कुरा भएको बताउनु भयो ।

नेपालले आफूसँग भएको ‘सफ्ट पावर’ को प्रयोग गर्नुपर्नेमा उहाँको जोड थियो । नेपालको परराष्ट्र नीति सबैसँग मित्रता, सबैसँग स्वीकार्यता र सबैसँग आत्मीयता’ का आधारमा अघि बढेको उहाँको भनाइ थियो ।

नेपाल विगतदेखि नै स्वतन्त्र, तटस्थ र असंलग्न राष्ट्रका रुपमा पहिचान बनाउँदै आएको र अहिलेसम्म पनि त्यसलाई निरन्तरता दिइरहेको उहाँले बताउनुभयो । नेपाल विगतदेखि नै कुनै पनि ‘एलायन्स’ मा संलग्न नभएको र त्यसैका आधारमा पहिचान बनाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विदेशमा रहेका नेपालीले त्यहाँ पुगेर पनि इमान्दार, मिहिनेती र अहिले आएर रचनात्मक भएर पनि चिनिएका छन् ।”

हामीसँग भएका फरक कुरा विश्वलाई चिनाउनुपर्नेमा मन्त्री ज्ञवालीको जोड छ । महिला सहभागिताका हिसाबले नेपाल विश्वमा उत्कृष्ट देशमध्ये पर्ने कुरा होस् वा मृत्युदण्डको व्यवस्था नभएर अपराधीलाई सुधार गर्न सकिन्छ भन्ने कुरा नेपालले अरूलाई सुनाउन सक्ने विषय भएको उहाँले आँैल्याउनुभयो ।

गोरखापत्र संस्थानका सल्लाहकार सम्पादक गोपाल खनालले नेपालले बोलेको विश्वका धेरै देशहरुले सुन्न थाल्नु महत्वपूर्ण कुरा भएको बताउनुभयो । अर्थ्विद् पारस खरेलले अहिलेसम्म कति नेपाली प्रवासमा कार्यरत छन् भन्ने समेतको तथ्याङ्क सरकारसँग नभएको बताउनुभयो ।