बंगलादेशी सेनाको टोली नेपालमा


काठमाडौ (नेस) । प्रधानसेनापति पूर्णचन्द्र थापासँग आजे नेपाल भ्रमणमा रहेको मित्रराष्ट्र बंगलादेशको नेशनल डिफेन्स कलेजका प्रमुख मेजर जनरल नेकिब अहमद चौधरीले जंगी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ । उक्त भेटवार्तामा वहाँहरु बीच दुई पक्षीय आपसी हितका बिषयमा छलफल भएको थियो ।

भेटवार्ताको कार्यक्रम पश्चात भ्रमण दललाई जंगी अड्डामा युद्धकार्य निर्देशनालयले नेपाली सेनाबारे जानकारी जानकारी गराएको थियो ।
उक्त भ्रमण दलले प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीसँग शिष्टाचार भेटवार्ता गरेको थियो ।

मित्रराष्ट्र बंगलादेशी सेनाका मेजर जनरल चौधरीको नेतृत्वमा २७ सदस्यीय भ्रमण दल शनिबार नेपाल भ्रमणको लागि काठमाडौं आईपुगेको थियो । उक्त भ्रमणदलले राष्ट्रिय सुरक्षा परिषद् लगायत पोखरास्थित पश्चिम पृतना हेड क्वाटरको निरीक्षण भ्रमण गर्नुका साथै नेपालका केही महत्वपूर्ण पर्यटकीय स्थलहरुको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देश बीचको सैनिक सम्बन्ध अझ सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।