आक्रमणकारीविरुद्ध किटानी जाहेरी दर्ता, नियमित काममा फर्किए डडेल्धुरा अस्पतालका चिकित्सक


राम धामी, डडेल्धुरा
असुरक्षाको कारण देखाउँदै जिल्ला छाडेर प्रदेशमुकाम धनगढी पुगेका डडेल्धुरा अस्पतालमा कार्यरत चिकित्सकहरुले मंगलबारदेखि नियमित सेवा सुरु गरेका छन ।

धनगढीमा मुख्यमन्त्री त्रिलोचन भट्ट, सामाजिक विकासमन्त्री कृष्ण सुवेदी लगागतले चिकित्सकमाथि आक्रमणमा संलग्नलाई कारवाही गर्ने प्रतिबद्धता ब्यक्त गरेपछि सोमबार साँझ डडेल्धुरा सदरमुकाम पुगेका चिकित्सकहरु मंगलबारदेखि नियमित काममा फर्किका हुन् । यही असार २५ गते बुधबार अस्पतालमा पोस्टमार्टम गरिरहेका चिकित्सकमाथि अमरगढी नगरपालिका–११ का वडाध्यक्ष सुर्यप्रकाश खडकाको नेतृत्वमा पुगेको समुहले आक्रमण र दुब्र्यबहार गरेपनि डडेल्धुरा अस्पतालमा कार्यरत १० जना चिकित्सकले शुक्रबादेखि जिल्ला छाडेका थिए ।

मंगलबार नियमित काममा खटिएका चिकित्सकहरुले दुई जना आक्रमणकारीबिरुद्ध जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा किटानी जाहेरी दर्ता समेत गराएका छन । दुई जनाबिरुद्ध किटानी जाहेरी दर्ता गरिएको र भाग्न सक्ने भएकाले अनुसन्धानका क्रममा नाम गोप्य राखेर कारवाही प्रकृया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

किटानी जाहेरी दर्ता गरिएका अभियुक्तहरुको नाम गोप्य राख्नुका पछाडी राजनीतिक दबाबले काम गरिरहेको अनुसन्धानमा संलग्न प्रहरीकर्मी बताउछन भने किटानी जाहेरी दर्ता भएसँगै राजनीतिक रुपमा दबाब आउन शुरु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले बताए । छाटो अवधिमै अस्पतालमा कार्यरत चिकित्सकमाथि दोस्रो पटक आक्रमण भएपछि दोषीलाई कारवाहीको दायरामा ल्याउन र अस्पतालमा सुरक्षा व्यवस्था सुदृढ बनाउन सकृय डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले राजनीतिक दबाबका बिषयमा आफुलाई कुनै जानकारी नभएको बताए । उनले दोषीमाथि कारवाही गर्न र अस्पतालमा कार्यरत चिकित्सकहरुलाई सुरक्षा प्रदान गर्न प्रतिवद्ध रहेको बताए ।

केहि दिन पहिले डडेल्धुरा अस्पतालमा बच्चा जन्माएकी सुत्केरीको १७ दिन पछि मृत्यु भएको भन्दै स्थानीयले अस्पतालमा तोडफोड गर्नुका साथै चिकित्सकहरुमाथि हातपात गरेका थिए । अस्पतालमा सन्त्रासको वातावरण भएकाले नियमित कामकाज गर्न अप्ठ्यारो भएको चिकित्सकहरु बताउछन ।