पूर्णबहादुरले समाते चितुवा


दोलखा, (नेस)
चितुवालाई मांंसाहारी जनावर मानिन्छ । मानिसलाई देख्नेबित्तिकै आक्रमण गर्ने यो जनावरलाई एक जना युवाले झन्डै १० मिनेटको रस्साकस्सीपछि जिउँदै समातेका छन् ।

दोलखाको विगु र कालिञ्चोक गाउँपालिकाको सिमाना सिंगटी बजारमा चितुवा पसेपछि खोपाचागुका पूर्णबहादुर रुचालले चितुवालाई जिउँदै समातेर सदरमुकाम चरिकोटमा रहेको डिभिजन बन कार्यालयमा ल्याएर बुझाएका छन् ।

सोमबार बिहान ८ बजेतिर सिंगटी बजारमा देखिएको चितुवालाई सुरुमा सिंगटी चेक पोस्टमा रहेका प्रहरीले जङ्गलतिरै लखेटी दिएका थिए । तर केही समयपछि उक्त चितुवा पुनः सिंगटी बजारतिरै आएपछि विगु गाउँपालिका–८ खोपाचागुका पूर्णबहादुर रुचालले चितुवालाई पछाडिबाट घाँटीमा समाती डोडीले बाँधेर डिभिजन बन कार्यालयमा बुझाउन ल्याएका थिए ।

सिंगटी बजारमा चितुवा देखिएपछि आफूले सुरुमा जंगलतिरै पठाउन खोजेको तर बजारतिर पस्न खोजेपछि आफूले पछाडिबाट घाँटीमा समातेर डोडीले बाँधी डिभिजन बन कार्यालय चरिकोटमा ल्याएर बुझाएको पूर्णबहादुरले बताउनुभयो ।

पूर्णबहादुरले समातेको चितुवा दुई फिट उचाइ र चार फिट लम्बाइको रहेको छ । उक्त चितुवा डिभिजन बन कार्यालय दोलखामा ल्याएको प्रमुख सन्तमाया श्रेष्ठले बताउनुभयो । चितुवा बिरामी रहेकाले पशु चिकित्सले उपचार गरेको र स्वस्थ भएपछि सिंगटी आसपासकै जङ्गलमा लगेर छोड्ने डिभिजन बन प्रमुख श्रेष्ठले बताउनुभयो ।

 

पूर्णबहादुरले समातेर बुझाएको चितुवा अहिले बन कार्यालयको हातामै छ । चितुवालाई जरो आएकोले आवश्यक उपचार गरेर राखिएको र ठीक भएपछि जङ्गलमा छोडिने डिभिजन बन प्रमुख श्रेष्ठको भनाइ छ ।