बेपत्ता तीन विद्यार्थीको खोजी जारी


इलाम, (नेस)
जिल्लाको माईनगरपालिका स्थित माईखोलामा आएको बाढिले बगाएर गत शनिबार बिहानदेखि बेपत्ता बनाएका माईनगरपालिका–१ जुवालेका तीनजना छात्रा अझै भेटिएका छैनन् । बेपत्ताहरुको सोमबारबाट स्थानीयको सहयोगमा प्रहरीको बिपत व्यवस्थापन टोलीले खोजीकार्य थालेको हो ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार तालिमप्राप्त सुरक्षाकर्मी सहित २६ जनाकोे टोलीले खोजी कार्य जारी राखेका छन् । बेपत्ता छात्राहरु माई नगरपालिका–६ गोतामेटारको भगवती माध्यमिक विद्यालयबाट परीक्षा दिएर घर फर्कने क्रममा खोलामा आएको बाढिले बगाएको थियो । माई नगरपालिका–१ का १५ वर्षीया आकृति लिम्बू, १४ वर्षीया छोरी निशा सुनुवार र १२ बर्षिया छोरी सुनिता साउदेन बेपत्ता छन् । उनीहरुसँगै खोला तरेका अन्य तीनजना छात्रहरु भने पौडिएर निस्किएका थिए । बेपत्ता छात्राहरुको माई नगरपालिका–१ को चण्डालघाटबाट खोजी थालेको इलाम प्रहरीले जनाएको छ ।

बेपत्ताको खोजि टोलिमा सशस्त्र प्रहरी १ नम्बर बाहिनी इटहरीका नौ जना र नेपाल प्रहरीका एक जना तालिम प्राप्त टोली रहेको छ । स्थानीय प्रहरी, संघसंस्था, स्थानीय बासिन्दा र युवाहरुले समेत ट्युबको माध्यमबाट खोजी गरिरहेको इलाम प्रहरीले जनाएको छ ।