सर्पदंश उपचार केन्द्रमा बिरामीको चाप


विमल विष्ट, डोटी
नेपाली सेनाले खोलेका सर्पदंश उपचार केन्द्रमा हिजोआज बिरामीहरुको निकै घुइँचो लाग्न थालेको छ । सुदूरपश्चिम प्रदेशमा सरकारी सर्पदंश उपचार केन्द्र नभएपछि सेनाका सर्पदंश उपचार केन्द्रमा उपचार गराउन आउने सर्पदंशका बिरामीको घुईचो लाग्न थालेको हो ।

सेनाका अस्पतालमा सर्पदंशका बिरामीका लागि आवस्यक पर्ने एण्टीस्नेक भेनम प्रयाप्त मात्रमा भएको र सो विषयमा दक्ष चिकित्सक भएका कारण अहिले बिरामीहरु सेनाकै अस्पतालमा आउने गरेको सुदूरपश्चिम पृतना मुख्यालय दिपायल राजपुर व्यारेकले जनाएको छ । नेपाली सेनाको सुदूरपश्चिम पृतना माहतहत रहेको कैलालीको बडैपुरमा रहेको कालीरक्षा गण तथा श्री न. २५ बाहिनी अन्तरगतको कञ्चनपुरको अर्जुनीमा देबीदल गणले सर्पदंश उपचार केन्द्र खोलेको छ ।

कालीरक्षा गणले खोलेको सर्पदंश उपचार केन्द्रमा स्थापना कालदेखी हाल सम्म ५ सय ४५ जनाको उपचार गरिएको सो गणका गणपती तथा प्रमुख सेनानी सुरेश थापाले जानकारी दिनुभयो ।

त्यस्तै कञ्चनपुरको अर्जुनीमा देबीदलगणले वि.सं. २०७१ सालदेखि खोलेको सर्पदंश उपचार केन्द्रमा हालसम्म ७ सय ७ जनाको उपचार गरिएको सो गणका गणपती तथा प्रमुख सेनानी राजु बस्नेतले जानकारी दिनुभयो । उपचार गर्न आएकामध्ये ७३ जनाको सो अस्पतालमा उपचार हुन नसकेपछि अन्यत्र अस्पतालमा रिफर गरिएको बताईएको छ ।

सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा सर्पले डसेका बिरामी समयमै सेनाले खोलेका सर्पदंश उपचार केन्द्रमा पु¥याउन नसकिदा बिरामीको ज्यान जान थालेको छ । यहाँको तराई क्षेत्रमा गोमन र करेत जस्ता अति विषालु सर्पको विगविगी हुने गरेको छ भने पहाडी भेगमा हरेउ र गुर्वे लगायतका विषालु सर्पले सर्वसाधारणलाई डस्ने गरेको छ ।

विषालु सर्पले डसेपछि बेलैमा सर्पदंश उपचार केन्द्र नलैजा विरामी मृत्युको मुखमा पुग्ने गरेको शैलैश्वरी अस्पताल दिपायलका डाक्टर ललित लिम्बु बताउनुभयो । गर्मी याममा प्राय सडकमा हिँड्दा, खेतबारीमा काम गर्दा, सुतेका बेला र दिसापिसाब गएका बेला सर्पले डस्ने गरेको स्थानियबासीहरु बताउछन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले दिएको जानकारी अनुसार गतवर्ष मात्रै सुदूरपश्चिम भरीमा सर्प दंशका कारण ४३ जनाको मृत्यू भएको छ । समयमै अस्पताल ल्याउन नसक्दा तथा अस्पताल ल्याईएका बिरामीहरुले तत्काल औषधी नपाउदा उनिहरुको मृत्यू भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलको तत्थ्यांङ्कमा उल्लेख गरिएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार यो अर्थिक वर्षमा मात्रै कैलाली,बझाङ,अछाम तथा डोटीमा गरी ६ जनाको बिसालु सर्पले टोकेका कारण ज्यान गईसकेको छ ।