गाई जोगाउनै मुस्किल


नेपाल समाचारपत्र
डोटी
डोटीको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका स्थानीयको खेतबारीमा जहिले पनि दर्जन भन्दा बढी गाईगोरु जम्मा हुने गर्दछन् । धान रोप्नका लागि लाईएको धानको बिउ तथा तरकारी खेती गाईगोरुले खाएर बाँझो खेत जस्तै बनाइदिने गरेका छन् । प्रतेक दिन स्थानीयले गाईगोरु लखेट्दै पिपल्ला बजार सम्म पु¥याए पनि फेरि खेतमा गएर धानको बिउ तथा तरकारी खाई दिन थालेपछि यहाँका किसानहरु हैरान भैसकेका छन् ।

यतिमात्र नभई यहाँका छाडा चौपायाले बजारमा पशलेले बेच्नका राखिएका तरकारी समेत खाने गरेका कारण निकै समस्या हुदै आएको स्थानिय तजबहादुर बोहराले बताउनुभयो । पछिल्लो समयमा जिल्लाका छाडा चौपायाका कारण सार्वजनिक यातायात सेवामा पनि चुनौती भएको छ । सडकभरि छाडा चौपायाका कारण दुर्घटना समेत त्यत्तिकै बढेको छ । तर गाईगोरुको न्यायोचित व्यवस्थापन भने हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख मोहनसिंह धामीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘सडकभरी पुरै चौपाया मात्रै छरिएका हुन्छन्, गाडी चलाउन चालकलाई समस्या भएको छ, ट्राफिक व्यवस्थापनमा पनि समस्या हुदै आएको छ, कता लैजाने हैरानी भैसक्यौँ ।’

नगरपालिकाले सामुदायिक वनमा काञ्जिहाउस बनाएमा छाडा चौपायाको ब्यवस्थापन हुने उद्योग वाणिज्य संघ डोटीका अध्यक्ष मोहन कलेलले बताउनुभयो । गाईले दुध दिन छोडेपछि यहाँका स्थानियले गाई छाडा रुपमा जथाभाबी छोड्ने गरेका कारण पिपल्ला बजारमा समस्या भएको दिपायल पिपल्लाका व्यापारी रमेश अवस्थीले बताउनुभयो ।

केही वर्ष यता देखी डोटीमा छाडा चौपायालाई व्यवस्थापन गर्न स्थानीय सडक तथा बजारमा निकै समस्या भएको छ । यो अवस्थामा छाडा चौपायाहरु आफ्नो आहाराका लागि बेइमानी बनेका छन् । रातभरी स्थानीय बजार वरिपरी बालीनाली तथा तरकारी बारीको नोक्सान गर्ने र बिहान स्थानीयले लखेटेर सडक तथा बजारमा छोड्ने गर्नाले यात्रु तथा अन्य सबै स्थानियकालागि चौपाया सास्ती बन्दै आएको स्थानियवासीको भनाई छ ।

हिन्दु धर्मालम्बीहरुको मर्दा पर्दा दान लिने दिने जनावर नै गाई भएको र दान दिएका गाईहरु ब्रामणहरुले नै बढी छोड्ने गरेको स्थानियहरुको आरोप छ । कतिपयले गाई दुहुनका लागि या गोरु जोत्नका लागि किन्ने र बिना सिजनमा छाडा छोड्ने गरेको स्थानिय गणेशबहादुर साउदले बताउनुभयो । बकेर्ना गाई छोड्ने प्रबृतिले गाई जोगाउनै मुस्किल भएको बिश्व हिन्दु महासंघ डोटीका अध्यक्ष राजप्रसाद जोशीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘गाईलाई छाडा छोड्दा नेपालको राष्ट्रिय जनावर नै संकटमा पर्न थालेको छ, गौ हत्या र बिचल्ली पानु भनेको अपराध गर्नु हो ।’ छाडा चौपायाले सडकमा मात्र नभएर किसानहरुलाई पनि सास्ती दिदै आएका छन ।