मापदण्डविपरीत नदी दोहोन


राजेन्द्र गजुरेल, नुवाकोट
मापदण्ड विपरित नुवाकोटका विभिन्न खोलाहरुवाट नदीजन्य सामग्रीको उत्खनन् भइरहदाँ समेत प्रहरी र प्रशासन अदृश्य बनिरहेको छ । केहि साता अगाडि मात्र जिल्लामा आउनुभएका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले नुवाकोटका नदिहरुमा असारदेखि भदौसम्म ३ महिना नदिजन्य पदार्थको उत्खननमा रोक लगाउने निर्णय गरेको केही दिनबाट नै पहिलेकै स्वरुपमा नदीहरुमा स्काभेटरलगायत ठुला मेसिन संञ्चालित रहेका छन् ।

नुवाकोटका ठुला नदीहरु त्रिशूली, तादी, लिखु, सामरी, सलाखु, फलाखु, कोल्पुलगायतका खोलाहरुवाट दैनिक रुपमा कानुन उल्लंघन गरेर नदीजन्य सामग्रीको उत्खनन् हुने गरेको स्थानियले बताएका छन् ।

‘प्रहरी, प्रशासन तथा सरोकारवाला निकायको आंखा छलेर कोल्टे परेको स्थान वा रातको समयमा नदीजन्य सामग्रीको उत्खनन् हुंदासमेत सरोकारवाला निकायले कारवाही गर्न नसकेको बेलकोटगढी नगरपालिका–८ काशीटारका स्थानीय गोकर्ण खतिवडा गुनासो गर्नुहुन्छ ।’ नुवाकोटवाट दैनिक रुपमा पांच करोड रुपैया भन्दा वढिको नदीजन्य सामग्रीको कारोवार हुंदै आएको छ ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले नुवाकोटका कुनै पनि नदीहरुबाट नदीजन्य पदार्थ उत्खनन गर्न सम्पूर्ण रुपमा रोक लगाईने प्रतिबद्धता जनाई रहदाँ बेलकोटगढी नगरपालिका वडा नम्बर ८ को सिसौघारीको अवैध उत्खननमा वन उपभोत्ता समितिदेखि सोहि वडाका वडाअध्यक्ष भोजप्रसाद पुडासैनीको समेत संलग्नता रहँदा समेत प्रहरी प्रशासन मौन रहेको स्थानीय खतिवडाले बताउनुभएको छ ।

जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरले नदीजन्य पदार्थको दोहोन रातको समयमा हुने भएका कारण आफुहरु रातमा मुख्य–मुख्य स्थानहरुमा पुग्ने गरेको बताउनुभएको छ । तर बेलकोटगढि नपा वडा नं १२ बेलकोटको तादि नदिमा रातभर बालुवा,ग्राभेल लगाएतका सामाग्रीको तस्कर हुने गरेको स्थानिय बासु बस्नेतले बताउनुभएको छ ।

स्थानिय बस्नेत बताउनुहुन्छ, ‘जब रातको ८ बज्दछ अनि खोलामा स्काभेटर चल्न सुरु हुन्छ खोलाको नजिक घर छ मेसिनको आवाजले सुत्न सकिदैन प्रहरी कहिलेकाहि साँझमा आउछ त्यो पनि सडक–सडकै जान्छ प्रहरीको नजर कहिल्यै पुगेन त्यहाँ ।’ खोलामा पानी बढे संगै नजिकै घर भएका कारण हरेक वर्ष वर्खा लागे संगै घरलाई क्षति पु¥र्याउने होकि भन्ने त्रासमा बस्नुपरेको छ त्यसमा पनि नदि किनारामा मेसिन लगाएपछि झनै त्रसित हुनुपरेको बस्नेतले बताउनुभएको छ ।

जिल्ला प्रशासनमा नयां सिडियो आउने बित्तिकै उत्खनन रोक्ने र सुरुमा केहिलाई पक्राउ गरेर कारबाही पनि गर्छन् । दुई हप्तापछि फेरि के कुरा मिल्छ कुन्नि नदी दोहन उस्तै हुन्छ फेरि, यो निर्णय पनि कुनै नयां होइन– ढिकुरेका स्थानीय लक्ष्मणप्रसाद लामिछानेले बताउनुभएको छ ।