गुरुपूर्णिमामा गुरुपूजा महोत्सव


काठमाडौं, (नेस)

गुरुभक्ति आदरभाव प्रकट गर्दै मनाईने गुरु पूर्णिमाका अवसरमा नेपाल मानव धर्म सेवा समितिले पनि विविध कार्यक्रमका साथ मनाएको छ । मानव धर्मका प्रणेता सद्गुरुदेव श्री सतपालजी महाराजजीप्रति श्रद्धाभाव प्रकट गर्दै समितिले ‘गुरुपूजा महोत्सव’ आयोजना गरेको हो ।

समितिको केन्द्रीय कार्यालय गौशालामा आयोजित कार्यक्रमका प्रमुख अतिथि काठमाडांै महानगरपालिका–९ का वडाअध्यक्ष रामकृष्ण श्रेष्ठले जोकोहीले प्राप्त गरेको आध्यात्मिक तथा भौतिक शिक्षा आदान प्रदान गरेमा समाज सकारात्मक दिशातर्फ अघि बढ्ने बताउनुभयो । समाज परिवर्तन गर्न, विकास निर्माण, सामाजिक चेतनाका लागि शिक्षा अपरिहार्य रहेको उहाँको भनाइ थियो ।

समितिका केन्द्र प्रमुख महात्मा चमेली बाइजीले शास्त्रमा भएका कुरालाई सबैले मनन गर्नु पर्ने र शास्त्रमा उल्लेख गरिएको गुरु शिष्यका उदाहरणबाट धेरै कुरा सिक्न सकिने बताउनुभयो । ‘गुरु चरणको दर्शनले मात्र पनि काशि प्रयागको पुण्य मिल्छ । त्यसैले हरेक युगमा आएका गुरुलाई सबैले चिन्नुपर्छ र गुरुले देखाएको बाटोमा हिड्नु पर्छ’ –उहाँले भन्नुभयो ।

कार्यक्रममा यसवर्ष एसईई उत्तिण गरेका विद्यार्थीलाई सम्मान गरिएको थियो भने भक्ति संगीतका कालाकार तथा बाल कलाकारले आध्यात्मिक, चेतनामूलक भजन, नृत्य तथा नाटक प्रस्तुत गरे ।