गुमेको साख फर्काउने सिनासको दाबी


नेपाल समाचारपत्र
काठमाडौं
कूटनीतिज्ञहरुले अब्बलस्तरको ‘थिंक ट्यांक’ गठनको खाँचो औल्याइरहेका बेला पञ्चायतकालमा स्थापना भएको नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) ले आफ्नो पुरानो साख ब्युँत्याउने प्रयास थालेको छ ।

चीन, भारत र जापान डेक्स स्थापना गर्दै सिनासले ती मुलुकका विश्वविद्यालय र अनुसन्धान संस्थासँग हातेमालो गर्ने तयारी गरेको छ । कूटनीतिक, प्राज्ञिक विषयको नियमित बहस, अन्तरक्रियासँगै अन्य विविध विषयको अनुसन्धान गर्ने सशक्त थलोका रुपमा सिनासले पुरानै साख फर्काउने गृहकार्य थालेको सो संस्थाका निर्देशक प्राडा मृगेन्द्रबहादुर कार्कीले बताउनुभयो ।

सन् १९८० को दशकमा सिनासले कमाएको ख्याति पुनः ब्यूँत्याउने दावी गर्दै उहाँले भन्नुभयो– ‘सिनास राजनीतिक पूर्वाग्रहमुक्त भएर कुटनीतिक, प्राज्ञिक र विविध विषयको अध्ययन अनुसन्धान र छलफलमा जुट्दै छ, छिमेकी मुलुक नियाल्ने डेक्सलाई पनि सशक्त बनाउँदै छौ ।’

कार्कीले प्रस्ट्याउँदै भन्नुभयो– ‘अध्ययन अनुसन्धानलाई फराकिलो बनाउन पाँच करोडको बजेट प्राप्त भएको छ, विगतमा अध्ययन अनुसन्धानका लागि सामान्य बजेट समेत नभएको अवस्थामा यो बजेटले ठूलो हौसला थपेको छ ।’
पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले सिनासलाई पाँच करोड रुपियाँको बजेट उपलब्ध गराएको थियो । त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर परिसरमा अवस्थित यो संस्था भाषाविज्ञान, इतिहास, भूगोल, राजनीतिशास्त्र, समाज–विज्ञान र धर्म–संस्कृति अध्ययन–अनुसन्धान गर्ने थलोका रुपमा स्थापना भएको थियो । २०२९ साउन १मा स्थापना भएको इन्स्टिच्यूट अफ नेपाल स्टडीलाई २०३४ भदौमा तत्कालीन त्रिवि ऐन अनुसार नेपाल तथा एसियन अध्ययन संस्था (सिनास) मा रुपान्तरण गरिएको थियो ।

२०४६ को राजनीतिक परिवर्तन पश्चात राजनीतिक भागवन्डाका आधारमा नेतृत्व सुम्पिने परिपार्टी शुरु भएपछि सो संस्थाको प्रतिष्ठा खस्किन थालेको बताइन्छ । सन् १९८० को दशकमा ७० भन्दा बढी अनसन्धाता आवद्ध सो संस्थामा अहिले १० जना पूर्णकालिन र सात जना आंशिक विज्ञ मात्रै रहेका छन् । १० मध्ये केही प्राध्यापक दशैं अगावै सेवानिवृत्त हुँदै छन् । प्रयागराज शर्मा, डोरबहादुर विष्ट, कुमार खड्गविक्रम शाहले नेतृत्व लिएका बेला सो संस्थाको इज्जत प्रतिष्ठा निकै अब्बल रहेको सिनास पदाधिकारी स्मरण गर्छन् ।
सीमित जनशक्ति भए पनि छिमेकी मुलुक सहित समग्र दक्षिण एसियाका विश्वविद्यालय र अनुसन्धान केन्द्रसँग हातेमालो गर्दै एक वर्षभित्रै परिवर्तन अनुभूत गर्ने वातावरण बन्ने निर्देशक कार्कीको दाबी छ । ‘सन् १९८० को दशकको प्रतिष्ठा पुनःस्थापना गर्न हामी जुटेका छांै, एक वर्षभित्रैमा सिनासमा आउने जोकोहीले सहजै परिवर्तन अनुभूत गर्न सक्ने वातावरण तयार हुनेछ’ –उहाँले मंगलबार सञ्चारकर्मीसँग भन्नुभयो ।

अमेरिकाको पेन्सिलभेनिया विश्वविद्यालयले हातेमालो गर्ने संस्थाको सूचीमा सिनास समेत रहेकाले पुरानो अन्तर्राष्ट्रिय सम्बन्ध र सम्पर्कलाई नविकरण गर्न मात्रै बाँकी भएको सिनास पदाधिकारी बताउँछन् ।
दाताको प्रभाव र राजनीतिक पूर्वाग्रहमुक्त अध्ययन अनुसन्धान नभएसम्म सिनासले आफ्नो खस्किएको पहिचान ब्युँत्याउन नसक्ने सो संस्थाका अर्का प्राध्यापक पेसल निरौलाको तर्क छ । नेपालबारे छिमेकीसहित पश्चिमा मुलुकको निहित स्वार्थबारे प्रष्ट बहस हुन जरुरी रहेको उहाँको भनाइ छ । पञ्चायतकालमा कुटनीतिज्ञले सद्भाव र सम्मान जनाउने सिनासको प्रतिष्ठा राजनीतिक पूर्वाग्रहका कारण खस्किएको निरौलाको बुझाइ छ ।
त्रिविअन्तर्गत सिनास सहित आर्थिक विकास तथा प्रशासन केन्द्र (सेडा), व्यवहारिक विज्ञान तथा प्राविधिक अनुसन्धान केन्द्र (रिकास्ट) र शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) सञ्चालनमा छन् । तर यी संस्थाको हालत पनि सिनासकै जस्तै भएको चर्चा हुँदै आएको छ । सिनासले प्रकाशन गर्ने जर्नल विश्वका यस अघि विभिन्न एक सय १२ मुलुकका विश्वविद्यालयसम्म पुग्ने गरेकोमा ५८ विश्वविद्यालयमा मात्रै पुग्ने गरेको निर्देशक कार्कीले जानकारी दिनुभयो ।

अमेरिका, बेलायत, फ्रान्स, चीन, भारत लगायत सात देशका विश्वविद्यालयसँग मात्र सिनासले सम्बन्धन लिएको उहाँले बताउनुभयो । झन्डै तीन सय अनुसन्धानमूलक पुस्तक प्रकाशन गरेको सिनासले अहिले ‘कन्ट्रब्युसन टु नेप्लिज स्टडिज जर्नल’ प्रकाशनलाई निरन्तरता दिएको छ । पूर्वनिर्देशकहरु शर्मा, विष्ट, शाह र धन वज्राचार्यको योगदानलाई सम्मान गर्दै यही वर्षदेखि विद्यार्थीलाई ‘फेलोसिप’ आरम्भ गरिने कार्कीले जानकारी दिनुभयो ।

सन् १९८० को दशकमा सिनासले माल्दिभ्सबाहेक सार्क क्षेत्रका सबै मुलुकसँग सम्पर्क डेक्स स्थापना गरेको थियो । अहिले छिमेक र जापान डेक्सलाई प्रभावकारी बनाउने योजना अघि सारेको सिनासमा जनशक्ति पर्याप्त छैनन् । यसअघिका भारत डेक्स प्रमुख गोविन्दबहादुर तुम्बाहम्फे प्रदेश–१ का प्रमुख नियुक्त भएपछि सो डेक्स नेतृत्वविहीन भएको छ । हाल भारत र चीन दुवै डेक्स कार्की स्वयंले नियाल्दै आउनुभएको छ भने जापान डेक्सको नेतृत्व प्राडा पञ्चनारायण महर्जनले लिनुभएको छ ।