धावक कार्कीद्वारा मन्दिर निर्माण


काठमाडौं, (नेस)
लामो दूरीका धावक रामसुन्दर कार्कीले आफ्नै लगानीमा हनुमान मन्दिर निर्माण गरेका छन् । कार्कीले १९ लाखको लगानीमा गोदावरी नगरपालिका–१ गोदामचौरमा हनुमान मन्दिर निर्माण गरेका हुन् ।

आफू हनुमानको भक्त भएका कारण व्यक्तिगत लगानीमा मन्दिर निर्माण गरिएको कार्कीले बताए । दुई आना क्षेत्रफलमा फैलिएको मन्दिरको आइतबार प्राण प्रतिष्ठाका साथै उद्घाटन गरिएको छ । हनुमान मन्दिरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले उद्घाटन गर्नुभयो ।

चार सय किलो ढुंगाको ५ फिट अग्लो मूर्ती निर्माण गरिएको हो । यसका साथै सीताराम, पञ्चमुखी गणेश, महादेव, पार्वतीलगायतको मूर्ती पनि निर्माण गरिएको छ । मन्दिरसँगै रहेको प्राचीण पँधेरोको पनि जिर्णोद्वार गरिएको छ । हनुमान मन्दिर मुक्तिनाथ एक सय आठ धारा नजिकै रहेको कार्कीले बताए ।