निरन्तर वर्षाका कारण बरुवा नदीको बहाव बढ्दै


उदयपुर । निरन्तर वर्षाका कारण बरुवा नदीको बहाव बढ्दै जाँदा जिल्लाको त्रियुगा नगरपालिका–११ स्थित शिवालयटोल तथा साकेलाटोल क्षेत्रमा निर्माण गरिएको बरुवा नदीको बाँध भत्कन थालेपछि गाईघाट बजार जोखिममा पर्न थालेको छ ।

तीन दिनदेखि आएको निरन्तर वर्षाका कारण बरुवा नदीको बहाव बढ्दै गएपछि पुराना बाँधको ढुङ्गा खोलिन थालेको र बाँध भत्कन थालेपछि शिवालयटोल, साकेलाटोल र गाईघाट बजार क्षेत्र नै जोखिममा पर्न थालेको साकेलाटोलका राजकुमार राईले बताउनुभयो । बाढीले बाँधको पुरानो संरचना खोल्न थालेको र ढुङ्गा बगाउन थालेपछि बाँध फुट्ने अवस्थामा पुगेको शिवालयटोलका अर्का स्थानीयवासी कनक कार्कीले बताउनुभयो ।

स्थायीरूपमा बरुवा नदीमा बाँध निर्माण नहुनु र पुराना संरचनामा निर्माण गरिएको बाँध यसभन्दा अघि पनि पटक–पटक विसं २०३१, २०३९ र २०५७ मा भत्किएको नगरपालिका–११ का ८१ वर्षीय महलशेर राई बताउनुहुन्छ ।

नदी कटान नियन्त्रण गर्न सशस्त्र प्रहरी, गाईघाटका नगर प्रहरी र जिल्ला प्रहरीले समेत सहयोग र निगरानी शुरु गरिसकेको र अब कटान कम हुने अवस्था आएको उदयपुरका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वीरबहादुर बुढामगरले बताउनुभयो ।