विश्वकपमा नयाँ टोली च्याम्पियन हुने पक्का


लन्डन, (एजेन्सी)
इंग्ल्यान्डमा जारी क्रिकेट विश्वकप प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन अस्टे«लिया सेमिफाइनलबाट बाहिरिएपछि नयाँ टोली च्याम्पियन हुने पक्का भएको छ ।

बिहीबार बर्मिङघममा भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक टोली इंग्ल्यान्डले गत संस्करण २०१५ को च्याम्पियन अस्टे«लियालाई ८ विकेटले हरायो । टोलीले २ सय २४ रनको लक्ष्य २ विकेटको क्षेतिमा ३५ ओभरमा प्राप्त गरेको थियो । योसँगै इंग्ल्यान्डले २७ वर्षपछि प्रतियोगिताको फाइनलमा पुगेर न्युजिल्यान्डसँग खेल्ने तय गरेको छ ।

२७ वर्षअघि सन् १९९२ मा इंग्ल्यान्ड फाइनलमा पुगे पनि पाकिस्तानसँग अप्रत्यासित रुपमा हारेको थियो । अहिलेसम्म इंग्ल्यान्डले विश्वकप उपाधि जित्न सकेको छैन भने अर्को टोली न्युजिल्यान्डले पनि विश्वकप ट्रफीको स्वाद चाख्न पाएको छैन ।

टोलीका जितमा ओपनर जेसन रोयले ८५ रन र जोनी बेयरस्टोले ३४ रनको योगदान दिएका थिए । रोय र बेयरस्टोले पहिलो विकेटका लागि १ सय २४ रनको साझेदारी गरेका थिए । जुन यस प्रतियोगितामा लगातार तेस्रो शतकीय साझेदारी समेत थियो ।

यसअघि टस जितेर ब्याटिङ गरेको अस्टे«लियाले ४९ ओभरमा अलआउट हुँदै २ सय २३ रन मात्रै बनाउन सकेको थियो । ओपनर तथा कप्तान एरोन फिन्च शून्यमा जोफ्रा आर्चरको शिकार बने भने अर्का ओपनर डेविड वार्नर ९ रनमा क्रिस वोक्सको बलमा आउट भए । यहीबाट टोली दवावमा परेको थियो । त्यस्तै ह्यान्डस्कोम्ब पनि ४ रन बनाएर आउट भएपछि अस्टे«लियाले १४ रनको लागि ३ विकेट गुमाएको थियो । यहीबाट टोलीको ठूलो योगफल बनाउने लक्ष्य समाप्त भएको थियो ।

कमजोर बनेको अस्टे«लियालाई स्टिभ स्मिथ र एश्ली कोरीले केही उकास्ने प्रयास गरे । उनीहरुले चौथो विकेटका लागि १ सय ३ रनको साझेदारी गरे । स्पिनर आदिल राशिदको बलमा कोरि (४६रन) आउट भएपछि सो साझेदारीको अन्त्य भएको थियो ।

एक इन्डमा स्मिथ जम्दै थिए भने अर्को इन्डबाट विकेट लगातार पतन भएका थिए । स्मिथ ४८औं ओभरको पहिलो बलमा रनआउट हुनु पनि टोलीलाई नोक्सान भएको थियो । उनी ८५ रनको योगदान दिएर आउट हुँदा टोलीको स्कोर २ सय १७ थियो । यसपछि मात्र ६ रन जोडेर अलआउट भएको थियो । इंग्लिस बलरमा क्रिस वोक्स र राशिदले ३÷३ विकेट लिएका थिए ।