खोला र पहिरोले पुरिएका पाँच जनाको उद्दार


हेटौंडा ।
मकवानपुरमा खोलाले बगाएका चार जना र पहिरोमा पुरिएका एक जनाको उद्दार गरिएको छ । हेटौंडाको राप्ति खोलाले बगाएका चार जनालाई दुई स्थानबाट उद्दार गरिएको हो ।

खोलाले बगाएका एक महिलालाई राप्ति पुलमुनिबाट उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । बुधबार विहान खोलाले बगाएकामध्ये तीन जनालाई बगेकै स्थानबाट उद्दार गरिएको र अर्का एक जनालाई खोलाले बगाएको स्थान भन्दा धेरै तलबाट उद्दार गरिएको उहाँले बताउनुभयो । खोलाले बगाएकी हेटौंडा–८ की कविता तामाङसहितलाई उद्दार गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।

मकवानपुरगढी गाउँपालिका–२, जीतपुर भञ्ज्याङ्गमा पहिरोमा पुरिएका एक जनालाई उद्दार गरिएको छ । स्थानीय ५० वर्षीय सुदर्शन गोलेको घर वर्षासँगै पहिरो जाँदा बगाएको हो । घर बगाउँदा लत्ताकपडा, अन्नपात सबै क्षति भएको छ । घरमा रहेका गोले र चितवन भरतपुर महानगरपालिका वडा नम्बर–१ का २१ वर्षीय प्रमोद भण्डारीलाई प्रहरीले उद्दार गरेको छ ।

बुधबार विहान करिब पौने ७ बजे घरमाथिबाट लडेको पहिरोले पुरेर घाइते भएका भण्डारीलाई उद्दार गरिएको हो । भण्डारीको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।