जम्मा १५ प्रतिशत रोपाइ


कृष्णउदास खनाल
वीरगन्ज, असारको तेश्रो हप्ता चलिहिरदा समेत पर्याप्त मात्रामा पानी नपर्दा प्रदेश २ का अधिकांश खेतमा रोपाईं हुन सकेको छैन । हालसम्म बर्षा नहुँदा प्रदेशको आधाभन्दा बढी क्षेत्रमा १ प्रतिशतसम्म मात्रै रोपाईं भएको छ ।
सिंचाईको न्यून व्यवस्थाका कारण पर्सा, बारा लगायतका जिल्लाहरुमा सन्तोषजनक रोपाईं हुन नसकेको हो ।

प्रदेश २ को कृषि निर्देशनालयका निर्देशक ओमप्रकाश बिराजीले धनुषामा डेढ प्रतिशत, महोत्तरीमा २ प्रतिशत र सर्लाही, रौतहट, बारा तथा पर्सामा १÷१ प्रतिशत मात्रै रोपाईं भएको जानकारी दिनुभयो ।

पर्सामा आवश्यकताअनुसार पानी गण्डन नहरमा भारतले नछाडेका कारण रोपाइ हुन नसकेको हो । प्रदेश २ को १३६ स्थानीय तहमा ५ लाख ४७ हजार २ सय २६ हेक्टर जग्गा खेतीयोग्य छ । तर पछिल्लो केही बर्षयता खेती गर्ने क्रम घट्दै गएको छ ।

निर्देशक बिराजीका अनुसार अहिले ५ लाख २६ हजार ६५ हेक्टर जग्गामा मात्रै खेती हुँदै आएको छ । खेतीयोग्य जग्गा ५ लाख २६ हजार हेक्टर भए पनि प्रदेशको सिञ्चित क्षेत्रफल १ लाख १५ हजार ५ सय १५ हेक्टर मात्रै छ ।
यसपटक आठ जिल्ला गरी ४ सय ५० थान स्यालो टयुबेल वितरण गरेकाले आकाशे पानीको भरमा खेती गर्नेहरुलाई पनि सिंचाइका लागि केही सहज हुने निर्देशक बिराजीले बताउनुभयो ।

उहाँले कमला र बागमती डाइभर्सन नबनेसम्म प्रदेश २ का खेतीयोग्य जग्गामा खेती गर्न सधैं समस्या रहने बताउनुभयो प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह जिल्लामा रहेका नदीनालाहरुमा बाँध बनाई कुलो पइनी मार्फत सिञ्चाईको प्रबन्ध गर्ने कार्यमा आफूहरु जुटिरहेको बताउनुभयो ।