महासंघको आन्दोलन फिर्ता


काठमाडौ(नेस) । संघीय संसद्को राष्ट्रियसभामा गत वैशाख २७ गते सरकारले दर्ता गरेको मिडिया काउन्सिल विधेयक संसोधन गर्ने सहमति भएपछि नेपाल पत्रकार महासंघले शुरु गरेको आन्दोलन फिर्ता लिएको छ ।

सरकारको नेतृत्व गरिरहेको पाटी नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसमेतको उपस्थितिमा नेपाल पत्रकार महासंघ प्रतिनिधिमण्डलको पटकपटक छलफल र वार्ता पछि बिधेयक संसोधन गर्ने सहमति भएको हो ।

नेकपा संसदीय दलको कार्यालयमा उपनेता नेम्वाङ, नेकपा महासचिव विष्णु पौडेल, राष्ट्रियसभामा नेकपाका नेता दिनानाथ शर्मा, कानुनमन्त्री भानुभक्त ढकाल, प्रतिनिधिसभा सांसद योगेश भट्टराईसमेतको उपस्थितिमा संसदीय दलको तर्फबाट राष्ट्रियसभामा नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईले संसद्मा दर्ता भएको मिडिया काउन्सिल विधेयकमा संशोधन प्रस्ताव तयार पारी महासंघले उठाउँदै आएको मिडिया काउन्सिलको स्वायत्तता, गठन प्रक्रिया, दण्ड–जरिवानालगायतका सरोकारहरुलाई सम्वोधन गर्ने तथा सञ्चासम्बन्धी अन्य विधेयकहरुमा पनि महासंघसँग छलफल गरी अघि बढाउने लिखित प्रतिवद्धता व्यक्त भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको महासंघले जनाएको छ ।

सरकारले दर्ता गरेका विधेयकका सन्दर्भमा सरकारको नेतृत्व गरिरहेको पाटीको संसदीय दलकै तर्फबाट प्रतिवद्धता व्यक्त भएकाले महासंघ उक्त प्रतिवद्धताको स्वागत गर्दै कानुन निर्माण गर्ने थलो जननिर्वाचित संसद्ले महासंघका सबै सरोकारहरुलाई सम्वोधन गर्ने विश्वास व्यक्त गरेको छ । महासंघले सञ्चालन गर्दै आएको तेस्रो चरणका सडक संघर्षका बाँकी कार्यक्रमहरु स्थगित गरी संघीय संसद्मा संशोधन प्रक्रियामार्फत महासंघले उठाएका विषय वस्तुलाई सम्वोधन गराउन छलफल, सम्वादजस्ता गतिविधिमार्फत दबाब सिर्जना गरिने महासंघले जनाएको छ ।