२९ हजार अमेरिकी डलर सहित पक्राउ


काठमाडौं(नेस) । अवैध रुपमा लुकाईछिपाई लान लागेको अमेरिकी र हङकङ डलर सहित हङकङ जन्मस्थान भई मोरङ मृगौलिया–९का पासाङ याल्मो तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट हङकङ जान लागेका तामाङलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय उडानतर्फको प्रस्थान ब्यागेज चेकिङ एरियामा सुटकेश र हाते झोलामा लुकाई राखेको अमेरिकी डलर २९ हजार ९ सय ५० र हङकङ डलर ३ सय ७० फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

तामाङलाई थप अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको छ ।