‘नेपालको कुटनीतिक अभ्यास’ सार्वजनिक


नेपाल समाचारपत्र, काठमाडौं ।
नेपालको कुटनीतिक अभ्यास र पूर्व राजदूतहरुको अनुभव समेटिएको पुस्तक ‘नेपालको कुटनीतिक अभ्यास’ सार्वजनिक भएको छ । नेपालको तर्फबाट राजदूत बनेका पूर्वराजदूतहरुको अनुभव समेटिएको पुस्तक परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सार्वजनिक गर्नुभएको हो ।

पुस्तकमा सक्रिय राजतन्त्र, संवैधानिक राजतन्त्र र संघिय लोकतान्त्रिक गणतन्त्रकालका २० जना पूर्वराजदूतहरुको अनुभव समेटिएको छ ।
उक्त कार्यक्रममा मन्त्री ज्ञवालीले पुस्तक नेपालका कूटनीतिज्ञहरुले आर्जन गरेका मूल्यवान अनुभवको महत्वपूर्ण दस्तावेज भएको बताउनुभयो ।
पुस्तक कुटनीतिक अनुभवको आँखीझ्याल भएको बताउँदै उहाँले भन्नुभयो–‘कुटनीतिक अभ्यास रिले दौडजस्तो हो, निरन्तरता र नवीनताको संयोजनयुक्त प्रकृया हो ।’

नेपालजस्तो सानो मुलुकले छिमेकीसहित सबैसँग मित्रवत र नियममा आधारित कुटनीति अंगाल्न जरुरी भएको ज्ञवालीले बताउँदै उहाँले नियुक्त हुने प्रकृयामा रहेका र नियुक्त भइसकेका राजदूतहरुले विषयगत ज्ञान, मुलुकको नीतिगत प्राथमिकता र राष्ट्रको सर्वोपरी हितलाई प्राथमिकतामा राखेको खण्डमा नेपालको कुटनीतिक अभ्यास नखस्कने धारणा राख्नुभयो ।

सोही कार्यक्रममा परराष्ट्र सचिव शंकरदास बैरागी, पूर्वपरराष्ट्र सचिव डा. मदनकुमार भट्टराई, पूर्व परराष्ट्रमन्त्री डा. भेषबहादुर थापा, बरिष्ठ पत्रकार युवराज घिमिरे लगायतले पुस्तक नेपालको कुटनीतिक अभ्यासको महत्वपूर्ण दस्तावेज बनेको टिप्पणी गर्नुभयो ।

कुटनीतिक अभ्यासलाई नीति, विधि र प्रविधीमैत्री बनाइएको खण्डमा नेपालको अन्तर्राष्ट्रिय छवि उदाहरणीय बन्न सक्ने उहाँहरुको सुझाव थियो ।
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा प्रकाशित उक्त पुस्तकमा पूर्वराजदूतहरुको परिचय, परराष्ट्रसेवामा उहाँहरुको संलग्नतासँगै परराष्ट्र मन्त्रालयको कार्यभार सम्हालेका प्रधानमन्त्रीहरुको सन्दर्भ जोडिएको छ ।

नेपाल कम्युनिष्ट पार्टीसम्बद्ध पत्रकार विष्णु रिजालद्वारा सम्पादित उक्त पुस्तकमा हालसम्मका परराष्ट्रमन्त्री, पूर्वराजदूत, परराष्ट्र सचिव र महाबाणिज्यदूतहरुको समेत संक्षिप्त विवरण समेटिएको छ ।