‘नयाँ नेपाल’ निर्माणमा भारतको सहयोग आवश्यक


नेपाल समाचारपत्र, नयाँदिल्ली । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले सोमबार आयोजित दुई मुलुकका कूटनीतिज्ञ तथा व्यवसायीहरुको भेलालाई सम्बोधन गर्दै ‘नयाँ नेपाल’ निर्माणका लागि भारतको सहयोग आवश्यक रहेको धारणा प्रकट गर्नुभयो ।

‘नेपालमा सशस्त्र विद्रोह र अस्थिरताको युग समाप्त भएर स्थायी सरकार गठन भएको अवस्था छ, समावेशी लोकतान्त्रिक अभ्यासमा लागेको नेपाललाई समृद्ध बनाउन छिमेकी भारतको सहयोग आवश्यक छ’ राजदूत आचार्यले भन्नुभएको छ । यसका लागि ‘रोडम्याप’ तयार पारेर भारतबाट अटुट सहयोगका लागि पूर्ण विश्वासको वातावरण तयार पार्नुपर्ने उहाँको धारणा थियो ।

भारतस्थित नेपाल राजदूतावास र नेपाल उद्योग संघ (सीएनआई) को सहयोगमा भारत–नेपाल केन्द्रले आयोजना गरेको भेलामा राजदूत आचार्यले सो विचार प्रकट गर्नुभएको हो ।

राजदूत आचार्यले नेपाल–भारतीबीचको सांस्कृतिक तथा परम्परागत सम्बन्धलाई अघि बढाउन र असन्तुलित व्यापारमा सुधार ल्याउन जलस्रोत, कृषि, औषधिविज्ञान, शिक्षा र सीप प्रवद्र्धक उद्योगमा भारतले नेपाललाई सघाएमा नयाँ नेपाल बनाउने पक्षमा योगदान पुग्ने धारणा राख्नुभयो ।

आर्थिक सम्बन्ध सुदृढ बनाउन दुवै देशका साना उद्योगहरुबीच सहकार्य र समन्वयको वातावरण बन्नुपर्ने धारणा पनि भेलाका सहभागीहरुले उठाएका थिए ।

भेलामा पीएचडीसीसीआईका पूर्वअध्यक्ष अनिल खेतान, भारत–नेपाल केन्द्रका अध्यक्ष तथा नेपालका लागि भारतका पूर्व राजदूत केभी राजन, नेपाल वाणिज्य तथा उद्योग संघका उपाध्यक्ष निर्वाण चौधरी, भारतस्थित नेपाली राजदूतावासका उपउच्चायुक्त भरतकुमार रेग्मी, कन्सुलर तीर्थ पौडेललगायतले भेलामा आ–आफ्नो धारणा प्रकट गर्नुभएको थियो ।