सेवा निवृत्त कर्मचारीबारे कांग्रेसको चासो


काठमाडौं (नेस) ।
सरकारले सेवा निवृत्त कर्मचारीको चाडबाढ खर्च घटाउने तयारी गरिरहेको चर्चासंगै प्रतिपक्ष दल नेपाली कांग्रेसले यसबारेमा चासो देखाएको छ ।
लामो समयसम्म राष्ट्रसेवकको रुपमा राष्ट्रलाई सेवा पु¥याएका सेवा निवृत्त कर्मचारीहरुलाई राज्यले सेवा निवृत्तिपश्चात् पेन्सन दिने सन्दर्भमा दशैंलगायत चाडवाड खर्चका लागि एक महिनाको तलब बराबरको रकम दिदै आएको छ ।

हाल सो रकम कटौती गर्ने सरकारको तयारीप्रति नेपाली कांग्रेस संसदीय दलको ध्यानाकर्षण भएको प्रमुख सचेतक बालकृष्ण खाणले बताउनुभएको छ ।

कांग्रेस प्रमुख सचेतक खाणले पेन्सन लिने राष्ट्रसेवक कर्मचारीलाई दिदै आएको सुविधा कटौती गर्न नेपाली कांग्रेस सहमत नभएको भन्दै उक्त खर्च कटौती नगर्न सरकार र सम्बन्धित निकायसँग आग्रह गर्नुभएको छ ।