अपराधमुक्त भक्तपुर बनाउन गैससको प्रभावकारी भूमिका


भक्तपुर ।
भक्तपुरलाई अपराध मुक्त जिल्ला बनाउन सामाजिक संघसंस्थाको महत्वपूर्ण भूमिका रहने सरोकारवाला निकायले बताएका छन् । आज भक्तपुरमा गैरसरकारी संस्था महासंघले आयोजना गरेको जिल्लामा घट्न सक्ने सम्भावित अपराध न्यूनिकरणमा सामाजिक संघसंस्थाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सरोकारवाला निकायले यस्तो बताएका हुन् ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघका केन्द्रीय अध्यक्ष जितराम लामाले गैरसरकारी संस्था र प्रहरीले हातेमालो गरेर अगाडि जान सके अपराधका घट्ना न्यूननिकरण हुने बताउनुभयो । अपराध न्यूनिकरणमा समाजसंगको साझेदारी प्रभावकारी हुने औल्याउदै उहाँले समाज चनाखो बन्न सके अपराधघट्ने बताउनुभयो ।

कार्यक्रममा महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले अपराधीलाई उन्मुक्ति दिनेगरि आउने बिभिन्न निकायको दबाबले अपराधीलाई कारबाही गर्न समस्या परेको बताउनुभयो । उहाँले जस्तोसुकै दबाब आएपनि ऐन र कानून भन्दा बाहिर नजाने र कोही पनि अपराधी कानूनबाट उन्मुक्ति नपाउने गरि भक्तपुर प्रहरी अगाडि बढेको बताउदै समाज र गैससले अपराध मुक्त भक्तपुर बनाउन सहयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले संचारकर्मी र गैरसरकारी संस्थाले अपराध न्यूनिकरणमा सघाउने बताउदै समाजको पहरेदार प्रत्येक नागरिक हो भन्ने कुरा बुझाउन जरुरी रहेको औल्याउनुभयो । क्रियासिल पत्रकार मञ्चका अध्यक्ष रमेश गिरीले प्रत्येक टोल टोलमा रहेका सामाजिक संस्थाले आफ्नो टोल सुरक्षित बनाउने अभियान संचालन गर्न सके समाज अपराध मुक्त हुने बताउदै प्रहरीले यसका लागि समन्वय गर्दै टोल टोलमा जानु पर्ने बताउनुभयो ।

पातञ्जल योग समिति नेपाल, केन्द्रीय अध्यक्ष सुदर्शन सुवेदीले योगका माध्यमबाट पनि अपराध मुक्त समाज बनाउने सकिने भएकाले योगलाई टोल टोलमा पुर्याउनु आवश्यक रहेको बताउनुभयो । कार्यक्रमका सभापति एवं गैसस भक्तपुरका अध्यक्ष सोम शर्मा (बजगाई)ले प्रहरी र गैससले भक्तपुरलाई अपराध मुक्त बनाउने जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सहभागिहरुले बिभिन्न सुझाबहरु पेश गरेका थिए ।