पूर्वराजा ज्ञानेन्द्र सपरिवार हात्तीवनमा


नेपाल समाचारपत्र, काठमाडौं । आफन्तको आशौचका कारण २३ असारको जन्मोत्सव नमनाउने निर्णयमा पुगेका पूर्वराजा ज्ञानेन्द्र सपरिवार फर्पिङस्थित हात्तिवन रिसोर्टमा पुग्नुभएको छ ।

जन्मदिनको अघिल्लो दिन आइतबार हात्तिवन रिसोर्ट पुग्नुभएको थियो । उहाँसँग पूर्व श्री ५ लाग्ने सबैको हात्तिवन रिसोर्टमा जमघट छ । विगत वर्षमा राजावादी समूहले उहाँको जन्मदिनमा रामै साथ दिएको भएतापनि यस पटक ७३आंै जन्मदिन मनाउने जाँगर भने उहाँले देखाउनुभएन ।

ज्ञानेन्द्रले, पूर्वरानी कोमल, हिमानी, नातिनीद्वय पूर्णिका र कीर्तिका, नाति हृदयेन्द्र लिएर आइतबार दिउँसै रिसोर्टमा पुग्नुभएको थियो । आज सोमबार बिहान छोरा पारस, वालसखा प्रभुशम्सेर जवरा, पूर्व सैनिक सचिव शान्तकुमार मल्लसहित आफन्तहरु रिसोर्ट पुगेका थिए । आज रात्रीभोज मनाउन छोरी, ज्वाइ, धीरेन्द्र–पुत्री र जवाईहरु, बहिनीलगायत पूर्व श्री ५ लाग्ने सबैको जमघट हुनेभएको छ । बन्दोबस्तीका लागि निजी सचिव सागर तिमल्सिनाबाहेक अन्य कर्मचारीको उपस्थिति देखिएको छैन । कुनैपनि कर्मचारीले ज्ञानेन्द्रलाई शुभकामना दिन पाएका छैनन्–एक कर्मचारीले नेपाल समाचारपत्रलाई भने ।

यस वर्षको जन्मदिनमा ज्ञानेन्द्रका कुनैपनि कर्मचारीले ज्ञानेन्द्रलाई शुभकामना दिन पाएनन् । बुढ्यौलीको कारण महेन्द्र मञ्जिल नछाडेकी पूर्व वडामहारानी रत्नबाहेक सबै आफन्त हात्तिवन रिसोर्टमा पुगेका छन् । करिब एक महिना थाइल्याण्ड बसाइपछि असार ३ गते नेपाल फर्केका ज्ञानेन्द्र कुनै कार्यक्रममा सहभागी हुनुभएको छैन ।