नेकामा अधिवेशनको दबाब


रामकृष्ण चापागाईं, काठमाडौं ।
नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले तत्काल तल्लो तहको अधिवेशन गर्न नेतृत्वलाई दबाब दिएका छन् । उक्त पार्टीको केन्द्रीय समितिको बैठक चल्दैगर्दा उनीहरूले थोरै अवधि बाँकी रहे पनि १४औं महाधिवेशनको जनादेशका लागि तल्लो तहको अधिवेशन गर्नुपर्ने तर्क अघि सारेका हुन् ।

छिटोभन्दा छिटो अधिवेशन गरेर विधानअनुसारका सबै संरचना गठन गर्नुपर्नेमा सबैजसो जिल्ला सभापतिहरूको समान धारणा रहेको काभ्रे जिल्ला सभापति मधु आचार्यले जानकारी दिनुभयो ।

यद्यपि आफूलाई १३औं महाधिवेशनको बाँकी कार्यकालसम्मका लागि अधिवेशन गर्ने कि १४ औं महाधिवेशनसम्मका लागि संरचना बनाउने भन्ने दुइटै निर्णय मान्य हुने उहाँको भनाइ छ ।

‘तर तल्लो तहको अधिवेशन गराएर निर्वाचनबाट नै पार्टी संरचनाअनुसार नेतृत्व छान्नुपर्छ’ आचार्य थप्नुहुन्छ– अधिवेशन नै नगरी छोटो समयको लागि भनेर मनोनित गरी नेतृत्व चयन गरे हामी जिल्ला सभापतिलाई मान्य हुनेछैन ।
ते¥हौं महाधिवेशनपछि निष्कृयजस्तै रहेको कांग्रेसभित्र चौधौं महाधिवेशनको चर्चासँंगै केन्द्रदेखि गाउँ तहसम्म आन्तरिक संगठन चलायमान हुनथालेका छन् ।

नयाँ संरचनाअनुसार काग्रेसले प्रदेश, क्षेत्र, पालिका, वडा र टोलसम्म अघिवेशनमार्फत नयाँ संरचना बनाउनुपर्ने हुन्छ । अहिले गठन गरिएको संरचनामा १४औं महाधिवेशनको कार्यतालिका आएपछि फेरि अधिवेशन गरी नेतृत्व चयन गर्नुपर्ने हुन्छ । सामान्यतया विधानको अन्तरिम व्यवस्थाअनुसार गठन गरिने तल्लो तहका संरचनामा चुनिएका नेतृत्वको समयावधि १४औंं महाधिवेशनअघि सम्मका लागि कायम रहनेछ ।

पार्टी स्रोतका अनुसार कांग्रेसले भदौअगावै तल्लो तहको अधिवेशन गरिसक्ने तयारी गरेको छ । आइतबारदेखि सुरु भई यही असार २७ गते पुनः बस्न लागेको केन्द्रीय समिति बैठकमा तत्काल संघीय संरचनाअनुसारको पार्टी संगठन निर्माण गर्न र त्यसपछि महाधिवेशनको प्रक्रिया अघि बढाउन प्रस्ताव पेश भैसकेको छ ।
‘छोटो अवधिको लागि मात्र नेतृत्व चयन गर्दा नेतृत्वमा रहने नेताहरुलाई उर्जा नआउन सक्छ’ काग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा भन्नुहुन्छ– एक–डेढ वर्षभित्र महाधिवेशन हुने भएकाले अहिले गर्ने अधिवेशनलाई नै मान्यता दिनेबारे पदाधिकारी र निर्वाचन समितिबीच छलफल भैरहेको छ ।’

अहिले अधिवेशनमार्फत गठन हुने नेतृत्वलाई नै १४औं महाधिवेशनमा मान्यता दिने बारेमा छलफल भैरहेको जानकारी दिँदै उहाँ भन्नुहुन्छ–आगामी स्थानीय, प्रदेश र संघको निर्वाचनका लागि अहिलेदेखि नै रणनीति बनाउँदै छौं ।