विजयपुर खोलाकाे ‘डाइभर्सन’ बग्याे


काठमाडौं । पर्यटकीय शहर पोखरा प्रवेशको मुख्यद्वार विजयपुर खोलामा अस्थायी रूपमा सञ्चालनमा ल्याइएको डाइभर्सन बाढीले बगाएको छ ।

पृथ्वीराजमार्गको पोखरा महानगरपालिका वडा नम्बर १४ चाउथे र वडा नम्बर २६ विजयपुर जोड्ने विजयपुर खोलामाथि एक दशकअघि निर्माण गरिएको पक्की मोटरेवल पुलको स्टिल बीम चर्किँदा ठूला भार क्षमताका यातायातका साधन आवतजावतमा रोक लगाइएको थियो । ठूला यातायातका साधनलाई नदीमा ह्युमपाइप राखेर वारपार गरिएकामा आइतबार रातिको बाढीले ह्युमपाइप बगाएको हो ।

डाइर्भसन बाढीले बगाउँदा पोखरा भित्रिने तथा पोखरा हुँदै पर्वत, बागलुङ, म्याग्दीलगायतका जिल्लामा जाने मालबाहक ट्रकको वारपार ठप्प भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । ठूला क्षमताका गाडी बिहान ५ बजेदेखि सडकमै रोकिएको प्रहरीको भनाइ छ ।

डिभिजन सडक कार्यालय पोखराले स्टिल पुलको आडमा बेलिब्रिज निर्माणका लागि सामग्री आइपुगेको तथा बेलिब्रिज जडान गर्नका लागि एबुटमेन्ट (पिलर) निर्माण सकिएकाले आजबाट जडानको काम शुरु गर्ने तयारी गरेको थियो ।