सल्यानमा विप्लव समूहका ५ कार्यकर्ता रिहा, २ जना अझै प्रहरी हिरासतमा

0
Shares

सरिता चलाउने, सल्यान । सल्यानमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका ५ जना नेता(कार्यकर्ता रिहा भएका छन् । विभिन्न समयमा गिरफ्तार परेकालाई रिहा गरिएको प्रहरीले जनाएको छ ।

जेठ १३ गते गिरफ्तार भएका शारदा नगरपालिका मोख्लाका गिरदल बस्नेत, उनि सँगै गिरफ्तारमा परेका बागचौर नगरपालिका ६ कोटबाराका सेरजंग चन्द र असार ३ गते बागचौरबाट गिरफ्तार भएका समिर भण्डारीे रिहा भएका छन् । उनिहरुलाई जिल्ला अदालत सल्यानले धरौटीमा रिहा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

पक्राउ परेका जनालाई प्रहरीले बम विस्फोट सम्बन्धी मुद्दा चलाएको थियो । बस्नेत नेकपाका जिल्ला सदस्य हुन भने चन्द र भण्डारी सामान्य कार्यकर्ता हुन् ।

जेठ २७ गते शारदा नगरपालिकाको मार्केबाट गिरफ्तार भएका शिक्षक लुट बहादुर खत्रीलाई पनि अस्ती जिल्ला प्रशासन कार्यालय सल्यानले धरौटीमा रिहा गरेको हो । उनलाई प्रहरीले सार्वजनिक कसुरको मुद्दा चलाइएको थियो । उनि मार्केको एक विद्यालयमा अध्यापन गराउने शिक्षक हुन् भने नेकपा निकट शिक्षक संगठनका सल्यान जिल्ला अध्यक्ष हुन् ।

त्यस्तै नेकपाका सल्यानका जिल्ला सदस्य अर्जुन ओली गत असार ९ गते रिहा भएका छन् । जेठ २२ गते कपुरकोटबाट गिरफ्तार भएका उनलाई प्रहरीले शान्ति सुरक्षा अन्तरगतको सार्वजनिक कसुर लगाएको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालय सल्यानले धरौटीमा रिहा गरेको हो ।

यसैबिच हाल सल्यान प्रहरी हिरासतमा विप्लव नेकपाका अन्य २ जना कार्यकर्ता रहेका छन् । हिरासतमा बस्नेमा जेठ ३१ गते गिरफ्तार भएका त्रिवेणी मुलखोलाका नेत्र बहादुर पुन (बलदेव) रहेका छन् । उनि युवा संगठनका पुर्व जिल्ला अध्यक्ष हुन् ।

त्यस्तै असार १२ गिरफ्तार परेका कुमाख गाउपालिका ६ बडागाउँका १७ बर्षिय पुस्कर सुनार हिरासतमा रहेका छन् । उनलाई बम विस्फोटको मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।