दुई पाकिस्तानी चोर काठमाडौंमा समातिए

0
Shares

काठमाडौं,
काठमाडौं महानगरपालिका-२३ झोँछेस्थित ललितपुर गावल घर भएका राजेन्द्र श्रेष्ठको डेभिस मेट्रो मनि एक्सचेन्जबाट अमेरिकी डलर ९ सय, साउदी रियाल ३ हजार र चिनियाँ युआन १ हजार ४ सय चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जना पाकिस्तानी नागरिकलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पाकिस्तान इस्लामावाद बस्नेहरु ३२ वर्षीय मोहसिन खान र ३१ वर्षीया पूजा मोहसिन खान रहेका छन् ।

उनीहरुले उक्त मनि एक्सचेन्जमा ५ सय साउदी रियाल अमेरिकी डलरमा साट्ने बहाना गरी भ्रममा पारी उक्त विदेशी मुद्रा चोरी गरी फरार भएकोमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा भक्तपुर दरबार स्क्वायरस्थित स्विट होम भक्तपुरमा फेला पारी पक्राउ गरेको हो ।

साथै यसअघि उनीहरुले २०७६ वैशाख २९ गते भक्तपुर सूर्यविनायकस्थित रामकृष्ण श्रेष्ठको आरके ईलेक्ट्रिक एण्ड ईलेक्ट्रनोनिक्स सेन्टरबाट ३० हजार रुपैयाँ, भक्तपुर ठिमी लोकन्थलीस्थित शन्तकृष्ण हेकाको हेका किचेन स्टोर्सबाट ७० हजार रुपैयाँ र रुपन्देही बुटवलस्थित शारदा वाग्लेको राईजिङ स्पोर्टस् ग्यालरीबाट १ लाख ५० हजार रुपैयाँ चोरी गरेको घटनामा वैशाख ३१ गते पक्राउ परी ५०/५० हजार रुपैयाँ धरौटीमा छुटेको खुल्न आएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।