‘गर्भवती महिलासंग उपमेयर’ कार्यक्रम

0
Shares

हिक्मत नेपाली, दैलेख ।
दैलेखको नारायण नगरपालिकाले गर्भवती महिलाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै ‘गर्भवती महिलासँग उपमेयर’ कार्यक्रम संचालन गर्ने भएको छ । नगरपालिकाले महिलाहरुको स्वास्थ्य अवस्थामा सुधार ल्याउन उपमेयर र गर्भवती महिलाबिच भेटघाट कार्यक्रम संचालन गर्न लागेको हो ।

आर्थीक बर्ष २०७६÷०७७ देखि कार्यक्रम सुरु गर्ने गरि नगरपालिकाले नीति अवलम्बन गरेको छ । कार्यक्रम अन्तरगर्त नगर क्षेत्रभित्रका गर्भवती महिलाहरुसँग उपमेयर भेटघाटका लागि पुग्नुहुनेछ । उपमेयर र गर्भवती महिला विच भेटघाटसँगै गर्भवती महिलाहरुलाई पोशिलो झोला उपहार दिने नीति नगरपालिकाले लिएको नगरप्रमुख रत्नबहादुर खड्काले बताउनुभयो ।

त्यस्तै नगरपालिकाले ‘असल आमा प्रोत्साहन’ कार्यक्रमलाई निरन्तरता दिने नीति बनाएको छ । नगरले नगरसभामा आगामी आर्थीक बर्ष २०७६÷०७७ का लागि पेश गरेको नीति तथा कार्यक्रम अनुसार ‘एक वडा एक उत्पादन’ गर्ने नीतिमा जोड दिएको छ ।

यस्तै नगरपालिकाले ‘एक घर एक करेसाबारी’ को अवधारणा अघि सारेको छ । ‘एक घर गोठ, १० फलफूलका बोट’ कार्यक्रम संञ्चालन गर्ने नगरपालिकाले जनाएको छ । यूवाहरुलाई विदेश पलायनबाट रोक्नका लागि व्यवसायीक पशुपालनमा अनुदान दिइने भएको छ । युवाहरुलाई पशुपालनका गर्न एक पटकका लागि अनुदान उपलब्ध गराउने र उत्पादनमा आधारित अनुदानको व्यवस्थालाई वढवा दिइने नगरप्रमुख खड्काले बताउनुभयो ।

नगरपालिकालाई कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न मुख्य पर्यटकीय स्थलहरुः कोटिला पञ्चकोशी ताल, कोतगडी, पञ्चदेवल, वेलासपुर, मालिका राईली त्रिपानीलाई विकास र विविधिकरण गर्ने नीति लिएको नगरप्रमुख खड्काले बताउनुभयो । प्राकृतिक साँस्कृतिक धार्मिक, कृषि तथा वन पर्यटन साहसिक पर्यटन, होमस्टे पर्यटन क्षेत्रहरुको विस्तार गरिने नगरप्रमुख खड्काले बताउनुभयो ।

‘नारायण नगरपालिका– ११ को राईलीदेखी मालिका मन्दिरसम्म गुरील्ला पर्यटन पदमार्गको १६ सय सिढी निर्माण भई सकेको छ,’ नगरप्रमुख खड्काले भन्नुभयो ‘बाँकी सिढी तथा जेष्ठ नागरिकका लागी गोरेटो बाटो निर्माण कार्य अगाडी बढाईने छ ।’ नगरपालिकाले शिक्षण सिकाई क्रियाकलापलाई प्रविधिमैत्रि बनाउन नगरका ‘एक वडा एक नमूना विद्यालय’ छनोट गरी मल्टिमिडिया प्रविधिबाट पठन पाठनको व्यवस्था मिलाउने नीति लिएको छ ।

‘सुकुम्बासीहरुले लामो समय देखि भोक चलन गर्दै आएको जग्गाको पुर्जा उपलव्ध गराउन पहल गर्नेछौ,’ नगरप्रमुख खड्काले भन्नुभयो ‘नगर चक्रपथ निर्माण, पञ्चकोशी कोटिला तालको पूर्वाधार निर्माण, हाईटेक नर्सरीको पूर्वाधार निर्माण, खरको छाना मुक्त नगर घोषणा कार्यक्रम सुरुवात गर्ने लगाएतका लक्ष लिएका छौ ।’