मन्त्री र सभापतिबीच भनाभन


गंगा बराल, काठमाडाैं ।
विकास तथा प्रविधि समितिकी सभापति कल्याणीकुमारी खड्का र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठबीच बिहीबार समितिको बैठकमा भनाभन भएको छ ।

बैठकको सुरुमा सभापतिले मन्त्री, सचिव र अन्यलाई विषयबस्तुबारे जानकारी गराएपछि मन्त्रीले सबैको जवाफ दिनुपर्छ भन्ने नभएकाले बैठकको प्रक्रियाको विषयमा असन्तुष्टी जनाउनुभएको थियो ।

मन्त्री र सभापतिबीच लामै विवाद भएपछि सांसद, पत्रकार र उपस्थितहरु समेत अन्यौलमा परेका थिए । सभापतिले बहिरा व्यक्तिलाई पनि सवारी चालक अनुमतिपत्र दिने विषयमा छलफल हुने र सरोकारवालालाई बोलाएको भन्नेबित्तिकै मन्त्रीले त्यसलाई नमान्ने भन्दै तत्काल प्रतिक्रिया दिनुभएको थियो ।

सरोकारवालासँग प्रत्यक्ष छलफल गराउनु व्यावहारिक नभएको भन्दै मन्त्रीले दावी गरेपछि सभापतिले उहाँहरुले मन्त्रीसँग आफ्ना गुनासा राख्न पाउनु स्वभाविक भएको बताउनुभयो । तर मन्त्रीले यसलाई ‘नम्स’ र सिद्धान्तअनुसार नभएको भनेर ठाडै अस्वीकार गर्नुभयो । सभापति खड्काले पनि ‘नम्स’ र सिद्धान्तअनुसार नै बैठक चलिरहेको दावी गर्नुभयो ।

मन्त्रीले समितिसँग भएको छलफलको निर्णय सरोकारवालालाई जानकारी दिने र आवश्यक परे फेरि पछि छलफल गर्न सकिने बताउनुभयो । समिति सदस्य रहनुभएका पूर्व प्रधानमन्त्री झलनाथ खनालले विधि र प्रक्रियाको विषयमा के गर्ने ÷के नगर्ने भनेर सभामुखसँग सबै समितिले गहन ढंगले छलफल गरी टुंगोमा पुग्नुपर्ने बताउनुभयो ।

सभापतिले राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष केपी अधिकारीसहित अरु पदाधिकारीलाई छलफलमा बोलाउनुभएको थियो । तर बैठकमा छलफल नगर्ने भनेपछि उहाँहरु अलमलमा पर्नुभयो । बैठक सकिँदासम्म बसे पनि मन्त्रीबाट सुनुवाई भएन । अधिकारीले समितिमा कुरा हुन नपाएकोमा आपत्ति जनाउनुभयो ।

२ वटा विद्युतीय गाडी ल्याइसक्नुभएका सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले सरकारले विद्युतीय गाडीको महत्वबारे चासो नदेखाएको बताउनुभयो ।

बैठकमा स्मार्ट लाइसेन्स दिन ढिलो र देशैभरका सडकको अवस्था कमजोर भएको भन्दै मन्त्रीसँग जवाफ मागेपछि मन्त्रीले काम भइरहेको बताउनुभएको थियो ।

पूर्व प्रधानमन्त्री सत्तारुढ नेकपाका वरिष्ठ नेता झलनाथ खनालले १० वर्षअघि आफूले अघि सारेको काठमाडौं–धार्के सुरुङमार्ग निर्माण परियोजना अझै अघि बढ्न नसकेकोमा असन्तुष्टी पोख्नुभयो ।

बैठकमा नेपाली कांग्रेसकी सांसद् रंगमति शाही, कांग्रेसका अर्का सांसद रामबहादुर विष्ट, नेकपाकी सांसद आशाकुमारी बिकले सरकारको काम–कारबाहीप्रति असन्तुष्टी जनाउनुभएको थियो ।