झापा जिल्ला प्रशासनमा गैर कानूनी काम


 

भद्रपुर । अनियमितता, भ्रष्टाचार तथा अख्तियार दुरूपयोग नियन्त्रणको जिल्ला स्तरीय जिम्मेवारी पाएको जिल्ला प्रशासन कार्यालय झापा नेतृत्व आफ्नै जिम्मेवार कर्मचारीका गैरकानुनी कार्य रोक्न नसक्ने अवस्थामा पुगेको छ । आर्थिक चलखेलमा परेर नागरिकता बेच्नेदेखि नक्कली शरणार्थी बनाएर अमेरिका पठाउनेसम्मका गैर कानुनी काममा प्रशासनका जिम्मेवार कर्मचारी मुछिएपछि प्रशासनको नेतृत्वमाथि प्रश्न खडा भएको हो ।

आर्थिक चलखेल गरेर १६ विदेशीलाई झापाबाट नेपाली नागरिकता दिइएको घटना होस या प्रशासन कै मातहतमा रहेको झापा दमकको बेल्डागीस्थित शरणार्थी समन्वय इकाइ (आरसीयु) कार्यालयको नेतृत्वले गरेको तेस्रो देश पुनरबासका लागि शरणार्थी प्रमाणित गर्न लाखौं असुलेको घटना ।

यी दुबै घटनाले झापा प्रशासनभित्र अनियमितता र आर्थिक बिचलन तीब्र गतिमा बढिरहेको देखिन्छ । नागरिकता प्रकरणमा भएको अनियमितता छानविन गर्न गृहमन्त्रालयले टोली खटाएर काम सुरू गरे पनि नक्कली शरणार्थीि प्रकरणमा कुनै प्रकृया सुरू गरेको देखिँदैन । शरणार्थी समन्वय इकाइ संयोजक शाखा अधिकृत यज्ञ निरौलाले लाखौं रकम असुल्ने गरेको आरोप सहित जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । रकम तिर्न नसकेर अमेरिका जान नपाएका पीडित शरणार्थीले अधिकृत निरौला बिरूद्ध उजुरी दर्ता गरे पनि कारवाही प्रकृया अगाडि नबढेको पीडितको आरोप छ ।

किर्ते नागरिकता प्रकरणमा गृह मन्त्रालय ले छानविन गरेर नागरिकता वितरणमा संलग्न तीन कर्मचारीलाई दुई हप्ता अगाडि निलम्बन गरी थप अनुसन्धान अघि बढाइएको छ । यस प्रकरणमा जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत गौरव ढुंगेल, नायब सुब्बा मेघराज निरौला र खरिदार तेजिन्द्र न्यौपानेलाई निलम्बन गरी छानबिन थालेको हो ।

अधिकृत ढुंगेल गत बैशाखमा किर्ते नागरिकता बनाउन खोज्ने कचनकवल गाउँपालिका २ बस्ने बमबहादुर गुरुङ र उनकी श्रीमती चन्द्रकला गुरुङले आफ्नो जेठो छोरा भन्दै भारतीय नागरिक भुपाल गुरुङलाई नेपाली नागरिकता बनाउन सम्पूर्ण प्रकृया पुर्याएर ल्याएको भन्दै पक्राउ गराएर चर्चा कमाएका व्यक्ति थिए । तर, त्यो चर्चा पैसा लेनदेन नमिलेर मात्र बाहिर आएको रहस्य यतिखेर खुल्न गयो ।

गुरुङ जस्तै प्रकृया मिलाएर १६ जनालाइ नागरिकता दिन अधिकृत ढुंगेल, नायव सुब्बा मेघराज र खरिदार तेजिन्द्रसित किर्ते प्रकरणमा सामेल देखिए । अधिकांश नागरिकताको सनाखत खरिदार न्यौपानेले गराएको, नासु निरौलाले टिप्पणी पेस गरेको र प्रशासकीय अधिकृत ढुंगेलले जारी गरेको देखिएको छ । यस प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले थप छानबिन गरिरहेको छ । एक महिनाभित्र अनुसन्धान पूरा गर्ने गरी ४ असारमा गृह मन्त्रालयले प्रहरीलाई पत्राचार गरेको थियो । घटनाको छानबिनका लागि इन्सपेक्टरको नेतृत्वमा ५ जना प्रहरीले अनुसन्धान गरिरहेका छन् ।

झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने, ‘घटना प्रकरण अनुसन्धानका चरणमा रहेको भन्दै थप विवरण दिन मिल्दैन, अरू विषय अनुसन्धानकै क्रममा छ ।’

गृहमन्त्रालयको अनुसन्धान टोली २२ जेठमा झापा आएको थियो । जिल्ला प्रशासन कार्यालय झापाबाट नेपाली नागरिकता लिन सफल १६ जना गैरनेपालीको सूची लिएर मन्त्रालय गयो । भारतीय, भुटानी र तिब्बतीलाई नागरिकता दिइएको श्रोतको दाबी छ ।

स्रोतका अनुसार पाँच जनाले ०७३ र ११ जनाले जेठ ०७६ मा नागरिकता लिएका छन् । गृहको छानबिनमा उनीहरू भारतीय, भुटानी र तिब्बती रहेको भेटिएको छ । यस प्रकरणमा भद्रपुर नगरपालिका–९, बिर्तामोड नगरपालिका–८ र साविकको शरणामति गाविसबाट उनीहरूलाई नागरिकता दिन सिफारिस गरिएको छ ।