नेका तल्लो तहमा दुई चरणको अधिवेशन हुँदै


रामकृष्ण चापागाई, काठमाडौं ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आगामी महाधिवेशनअघि तल्लो तहको दुई चरणको अधिवेशन गर्ने भएको छ ।

संघीय संरचनाअनुसार विधान संशोधन गरेको कांग्रेस अहिले तल्लो तहको संरचना निर्माणमा जुटेको छ । अधिवेशनमार्फत निर्माण हुने टोल तह सम्मको संरचनामा केन्द्रीय महाधिवेशनअघि अधिवेशन गरिने छ ।

प्रत्येक चार वर्षमा महाधिवेशन गर्नुपर्ने कांग्रेस पार्टीको विधानमा उल्लेख छ । तर, विधानमै एक वर्षसम्म समय थप गर्न पाउने व्यवस्था छ । यस हिसावले पनि अबको डेढ वर्षभित्र कांग्रेसको १४औं महाधिवेशन गर्नुपर्ने हुन्छ । यही डेढ वर्षको बीचमा कांग्रेसको नयाँ संरचनाअनुसार बन्ने सबै निकायमा दुई पटक अघिवेशन हुने भएको छ ।

कांग्रेस केन्द्रीय सदस्य एवं नियमावली मस्यौदा समितिकी सदस्य ईश्वरी न्यौपानेले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार अहिले बन्ने तल्लो तहको सबै संरचना १४औं महाधिवेशनअघिका लागि मात्र हो । १४औं महाधिवेशनको लागि फेरि अधिवेशन हुन्छ । ‘अहिले विधानअनुसार संरचना बनाउने मात्रै हो, अहिले गठन हुने समितिको म्याद केन्द्रीय महाधिवेशन अघि सम्मको लागि मात्र हो, १४औं महाधिवेशनअघि पुनः अधिवेशनमार्फत यी सबै संरचनामा नेतृत्व चयन हुन्छन्’– न्यौपानेले भन्नुभयो ।

पार्टीको केन्द्रीय कार्यसमिति, सीमाङ्कन हेरफेर नभएका जिल्ला कार्यसमिति, सीमाङ्कन परिवर्तन नभएका स्थानीय तहका कार्यसमिति यथावत रहने बाँकी रहने बाहेक बाँकी रहेको टोल तहसम्म अघिवेशन गरी पार्टी संरचना बनाउनुपर्ने विधानमा उल्लेख छ । टोल, वडा, नगरपालिका, गाउपालिका, प्रदेश, प्रतिनिधिसभा निर्वाचन क्षेत्र समिति, प्रदेश समिति लगायत तल्लो तहको संरचना अघिवेशन गरि निर्वाचनमार्फत तत्काल गठन गर्न कांग्रेस नेतृत्वलाई दबाब छ ।

अहिले संघीय संरचनाअनुसार गठन गर्नु पर्ने सबै समितिहरुमा तदर्थ समिति बनाउने सभापति शेरवहादुर देउवा पक्षका नेताहरुको भनाइ रहेपनि संस्थापन पक्ष इतरका नेताहरुले यसको चर्को विरोध गरिरहेका छन् । दुई दिनअघि नुवाकोट जिल्लाका सभापति जगदीश्वर नरसिंह केसीको घरमा बसेको संस्थापन इतरका शीर्ष नेताहरुको बैठकले पनि विधान विपरित नियमावलीमा केन्द्रिय समितिको निर्णय अनुसार हुने भनि तल्लो तहमा तदर्थ समिति बनाउने बाटो खोल्ने सम्भावना रहेको भन्दै आशंका व्यक्त गरेका थिए ।

नियमावली मस्यौदा समितिकी सदस्य इश्वरी न्यौपाने नियमावली विधानअनुसार नै आउने भन्दै विधानविपरित नियमावली बनाउने कुरा नेताहरुलाई ‘बनको बाघले हैन मनको बाघले खाएको’ मात्र हो भन्नुभयो । कांग्रेसको संशोधित नियमावली बारे यहि असार २२ गते बस्ने बैठकमा छलफल हुदैछ ।

यसअघि पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आगामी भदौको तेस्रो साता शुरु हुने दोस्रो चरणको राष्ट्रिय जागरण अभियान अगावै विधान अनुसारको सबै संरचना बनाउने भन्दै पार्टी केन्द्रको आधिकारिक धारणा सार्वजनिक गर्नु भएको थियो ।