सिआईवीद्वारा बैंकिङ कसुरमा फरार अभियुक्त पक्राउ


काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी)ले कीर्ते अग्रिम भुक्तानी जमानत तयार गर्ने बैंकिङ कसुर कार्यमा संलग्न ३ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भक्तपुर सूर्यविनायक नगरपालिका-२ बालकोट बस्ने झापा महारानी झोडा-९ का ५४ वर्षीय छविलाल ढकाल, धनकुटा महालक्ष्मी नगरपालिका-७ बस्ने ५३ वर्षीय रणधीर तुम्बा र ललितपुर महालक्ष्मी नगरपालिका-२ बस्ने बाजुराका ३८ वर्षीय देवजंग शाही रहेका छन् ।

उनीहरुमध्ये ढकाललाई भक्तपुरबाट, तुम्बालाई सुनसरी धरानबाट र शाहीलाई ललितपुरबाट प्रहरीले पक्राउ गरेको हो ।

कृषि विकास बैंक लिमिटेड मुख्य शाखा कार्यालय, रत्नपार्क कार्यालयको छाप, दस्तखत तथा लेटरप्याड समेत अनाधिकृत रुपमा दुरुपयोग गरी उक्त बैंकको कर्पोरेट बैंकिङ कार्यालयमा कार्यरत तत्कालीन शाखा अधिकृत (निलम्बित) ढकाल तथा M/S MK-YP J/V बबरमहल काठमाडौंका आधिकारिक प्रतिनिधिद्वय तुम्बा र शाही समेतको मिलेमतोमा बैंकलाई हानी नोक्सानी पुर्‍याउने बदनियत राखी १० जुन २०१६ मा ५५ लाख ५० हजार रुपैयाँ र ४ नोभेम्बर २०१६ मा ५५ लाख ५० हजार रुपैयाँको किर्ते अग्रिम भुक्तानी जमानत तयार गरी विभिन्न ठेक्का सम्झौतामा पेश गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
उनीहरु उपर बैंकिङ कसुर तथा सजाय ऐन , २०६४ बमोजिम आवश्यक अनुसन्धान भइरहेको सिआईबीले जनाएको छ ।

सिआईबीको अनुसन्धानबाट थप खुल्न आएका कुराहरु :
– २०७३/०३/०३ गते साविक जिल्ला प्राविधिक कार्यालय भोजपुर र M/S.M.K.-Y.P. J/V बबरमहल काठमाण्डौंबीच भोजपुर-टक्सार-कोट-गोगने-लेखर्क सड्क स्तरोनन्तीको रु १२,५५,९७,७५४( बाह्र करोड  पचपन्न लाख सन्तानब्बे हजार सात सय चौवन्न) मा ठेक्का सम्झौता हुँदा नक्कली जमानत पेश गरेको ।

– नक्कली Advance Payment Guarantee बैंकको कर्मचारी छविलाल ढकालले तयार गरि M/S.M.K.-Y.P. J/V बबरमहल काठमाण्डौंका आधिकारिक प्रतिनिधिहरुलाई दिएको ।

– उक्त बैंक Guarantee मार्फत पहिलो किस्ता रु ५५,३०,००० र दोस्रो किस्ता ५५,५०,००० गरि जम्मा १,१०,८०,०००९ (अक्षेरुपी एक करोड दश लाख असी हजार) रकम साविक जिल्ला प्राविधिक कार्यालय  भोजपुरबाट भुक्तानी लिइसकेको ।
– उक्त ठेक्काको म्याद ०७५/०३/१६ सम्म रहेकोमा हाल ठेक्का स्थगित भएको ।