हिंसा पिडीत महिलाका लागि एकद्धार संकट व्यवस्थापन केन्द्र स्थापना


पर्वत । लैङ्गिक हिंसा पिडित महिला तथा बालबालिकाहरुका लागि लक्षित गरेर पर्वत जिल्ला अस्पतालमा एकद्धार संकट व्यवस्थापन केन्द्र स्थापना गरिएको छ ।

बलात्कार तथा अन्य हिंसामा परेका महिला तथा बालबालिकाका लागि निशुल्क स्वास्थ्य परिक्षण तथा कानुनी उपचार गराउने उद्देश्यले एकिकृत संकट ब्यबस्थापन केन्द्र स्थापना गरिएको हो । केन्द्रको सोमबार औपचारिक रुपमा शुभारम्भ गरिएको छ ।

पर्वत जिल्लामा घरेलु हिंसा पिडीत महिलाहरुको संख्या अत्याधिक हुने गरेको छ । पिडीत महिला तथा बालबालिकाहरुले कानुनी उपचार र स्वास्थ्य उपचारका लागि प्रहरी कार्यालय र अस्पतालमा गोप्यता भंग हुने अबस्था आउन नदिन केन्द्र सञ्चालमा आएको पर्वत अस्पताल बिकास समितिका अध्यक्ष गोबिन्द पहाडीले जानकारी दिनुभयो । ‘लैङ्गिक हिंसामा परेर स्वास्थ्य उपचार तथा कानूनी उपचार पाउन नसकेका वा असजिलोमा परेका महिला, बालबालिकाहरुका लागि तत्कालै आश्रय दिने उद्धेश्यले यो केन्द्र स्थापना गरिएको हो’ , उहाँले भन्नुभयो ‘पिडीतहरुका लागि उपलब्ध हुने सवै सेवाहरु निशुल्क हुने भएकाले हिंसापिडीतहरु प्रत्यक्ष लाभान्वित हुनेछन ।’


पर्वत जिल्ला अस्पतालमा स्थापना गरिएको केन्द्रमा चार जना सम्म पिडीतहरुले एकैपटक सेवा लिन सक्नेछन । केन्द्रमा राखिने महिला तथा बालबालिकाहरुलाई प्रहरीले आवश्यक बयान समेत केन्द्रमै पुगेर लिने छन ।

यसअघि जिल्ला प्रहरी कार्यालय वा अन्य प्रहरी युनिटमा जानुपर्ने बाध्यता हुँदा पिडीतको पहिचान खुल्ने र गोप्यता भंग हुने समसयाका कारण कानुनी उपचाका लागि समेत नआउने अबस्था थियो । यसैगरी अस्पतालमा स्वास्थ्य परिक्षणका क्रममा पनि सबै बिरामीका बिचमा गर्नुपर्ने भएकाले गोप्यता भंग हुने गरेको थियो । अब प्रहरीको बयान देखि स्वास्थ्य उपचार र सरकारी वकिलले समेत केन्द्रमा नै आएर बयान लिने अबस्था हुँदा पिडीतहरुले कानुनी र स्वास्थ्य उपचारमा सहजता महसुस गर्ने अध्यक्ष पहाडीको भनाई छ ।

पर्वत जिल्लामा लैङ्गिक हिंसा, घरेलु हिंसा र अन्य प्रकारका हिंसाबाट पिडितहरु र अन्यायमा परेकाहरुलाई अल्पकालिन सुरक्षित आश्रय स्थलको अभाव महसुस भैरहेको सन्दर्भमा यस केन्द्रले त्यो अभाव पूर्ति गर्न योगदान दिने एकद्धार संकट व्यवस्थापन केन्द्र समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बिश्वास ब्यक्त गर्नुभयो ।

‘असजिलोमा परेका र तत्कालै स्वास्थ्य उपचार गर्नुपर्ने र सुरक्षा प्रदान गर्नुपर्नेहरुका लागि यो केन्द्रले राहत दिनेछ’ उहाँले भन्नुभयो ‘पिडितहरुले जिल्ला अस्पताल, जिल्ला प्रहरी कार्यालय र जिल्ला न्यायाधिवक्ताको कार्यालयबाट लिनुपर्ने सवै प्रकारका सेवाहरु एकद्धार पद्धति अनुसार जिल्ला अस्पताल भित्र रहेको यस केन्द्रबाट लिन पाउने गरि व्यवस्था मिलाईएको छ ।’

उद्घाटनका क्रममा कार्यक्रममा जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट सन्तोषी थपलीयाले एकद्धार संकट व्यवस्थापन केन्द्रबाट उपलब्ध हुने सवै सेवा र प्रकृयाका संवन्धमा जानकारी गराउनुभएको थियो ।