सामाजिक कु-संस्कार बिरुद्ध उत्रियो डोटी प्रहरी


विमल विष्ट, डोटी । जिल्लामा पछिल्लो समय प्रहरी सामाजिक कु–संस्कारका बिरुद्धमा उत्रिएको छ । गाउँ गाउँमा बिभिन्न अपराधिक क्रियाकलाप बन्द गर्दै आईरहेको डोटी प्रहरीले पछिल्लो समय सामाजिक कु–संस्कारका बिरुद्ध अभियान नै सञ्चालन गरेको छ ।

सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत स्थानीय तहसंङ्गको सहकार्यमा गाउँ–गाउँमा जनचेतना मुलक अभियान सञ्चालन गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरिक्षक बिद्यानन्द माझीले जानकारी दिनुभयो । प्रहरीले जिल्लाका दुर्गम गाउँमा पुगेर बाल बिवाह, बहु बिवाह, छाउपढी प्रथा, लैँङ्गिक हिंसाका घटना न्यूनिकरण गर्नका लागि अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रबक्ता तथा प्रहरी नायव उपरिक्षक लालबहादुर धामीले बताउनुभयो ।

“हाम्रो सामुदायमा बिभिन्न प्रकारका कु–संस्कार कायम छन, कतिपय संस्कार कानुनी रुपमा अपराध ठहर भएका छन” उहाँले भन्नुभयो, “सामाजिक कु–संस्कार अन्त गर्न र त्यसको बिरुद्ध हामी अभियान नै लिएर उत्रिएकाछौँ।, कु–संस्कार अन्त गरेर छोड्छौँ ।”

‘हर प्रहर गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूख्य नाराका साथ जिल्लाका नौ वटै स्थानीय तहमा जनप्रतिनिधी र प्रहरीले संयुक्त रुपमा गाउँ–गाउँमा जनचेताना अभियान सञ्चालन गरिएको छ । समाजमा हुने अपराध नियन्त्रणकालागि सामुदायको सहभागीता बिना प्रहरीले मात्रै केही गर्न नसक्ने भएकाले हामी जनप्रतिनिधीहरुको सहकार्यमा उक्त अभियान लिएर गैरहेको प्रहरी प्रबक्ता तथा प्रहरी नायव उपरिक्षक धामीले बताउनुभयो ।

प्रहरी र स्थानीय तह मिलेर जनचेतना मुलक कार्यक्रम गर्दा प्रभाबकारी भएको स्थानियवासीहरु बताउछन् । सामुदाय प्रहरी साझेदारी कार्यक्रममा नेपालको संबिधान, प्रचलित ऐन कानुनमा भएको दण्ड र सजायको व्यवस्थाको बारेमा प्रहरीले गाउँ गाउँमा जानकारी गराउने गरेको छ । छाउपढी जस्ता कु–संस्कार अन्त्य गर्नका लागि महिला स्वयम तयार नभएसम्म अन्त्य गर्न नसकिने जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुना बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “म पनि केही समय पहिला छाउपढी प्रथा मान्थे तर आज म मान्दीन देउता रिसाउँछन भन्ने बहाना मात्रै हो म संङ्ग रिसाएका छैनन्,छाउपडी प्रथाको अन्त हुनै पर्छ ।”