मानेश्वाँरामा सामुदायिक सूचना प्रविधि केन्द्र


 

नानीराम नेपाल, सिन्धुपाल्चोक ।
बाह्रविसे नगरपालिका ८ स्थित मानेश्वाँरामा सामुदायिक सूचना प्रविधि केन्द्रको भवन निर्माण गरि दाताले स्थानीय सरकारलाई हस्तान्तरण गरेका छन् ।

सामुदायिक सूचना प्रविधि केन्द्रको भवन निर्माण गरी दातृसंस्थाले वडा कार्यालयलाई स्वामित्व हस्तान्तरण गरेको हो । ग्लोबल अफेयर्स क्यानडाको आर्थिक सहयोग, सेसी नेपालको साझेदारीमा टुकी संघ सुनकोशीद्वारा सञ्चालित सुशासन परियोजनाको सहयोगमा उक्त भवन निर्माण गरी हस्तान्तरण गरिएको हो ।

भवन निर्माण सम्पन्न भएसँगै टुकी संघ सुनकोसीका अध्यक्ष माधव पौडेलले बाह्रविसे नगरपालिकाकी उपप्रमुख शुशिला पाख्रिन र वडाध्यक्ष सुरज लामालाई संयुक्त रुपमा भवनको स्वामित्व हस्तान्तरण गर्नुभयो ।

सूचना प्रविधि केन्द्रको भवन पाएसँगै उपप्रमुख शुशिला पाख्रिनले सूचना र प्रविधिको नयाँ ढोका खुलेको बताउनुभयो । सुशासन परियोजनाको सहयोगमा हस्तान्तरण भएको यस सूचना प्रविधि केन्द्रलाई वाह्रविसे नगरपालिकाको मात्र नभई जिल्लाकै नमुना सूचना केन्द्रका रुपमा विकास गरिने उहाँले बताउनुभयो । ‘यो सूचना र प्रविधिको युग हो, नयाँ भवन नै बनाएर सूचना प्रविधि केन्द्र संचालनमा आउनु हाम्रा लागि खुसीको विषय हो’, उहाँले भन्नुभयो, ‘ नगरवासीमा सूचनाको पहुँच बृद्धिका लागि यो सामुदायिक सूचना प्रविधि केन्द्र महत्वपुर्ण सिद्ध हुनेछ ।’

बाह्रविसे नगरपालिका ८ का वडाध्यक्ष सुरज लामाले सूचना प्रविधि केन्द्रको स्थापना सँगै मानेश्वाँराका स्थानीयहरुमा उत्साह थपिएको बताउनुभयो । आगामी दिनमा वडावासीले विकासका कार्यक्रमको सम्पूर्ण सूचना यही सूचना प्रविधि केन्द्रबाट पाउन सक्ने भन्दै वडाध्यक्ष लामाले सूचना प्रविधि केन्द्रको प्रभावकारी सञ्चालनमा वडा तहबाट पहल गरिने बताउनुभयो ।

सुशासन परियोजनाले महिला तथा सिमान्तकृत समुदायका लागि प्रविधिको दिगो प्रयोग, क्षमता अभिवृद्धि तालिम सहित सूचनामा नागरिकको पहुँचको लागि स्थानीय सरकारसँग समन्वय गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । जिल्लाको सुनकोशी गाउँपालिका र बाह्रविसे नगरपालिकामा समुदायस्तरीय सूचना प्रविधि केन्द्रमा प्राविधिक क्षमता अभिवृद्धि गर्न सहयोग गर्दै आईरहेको सुशासन परियोजनाका नवराज पराजुलीले बताउनुभयो ।