एनआरएनए सातौं एसिया प्यासिफिक क्षेत्रीय बैठक तथा दोस्रो क्षेत्रीय महिला भेलाको तयारी तीव्र


काठमाडौं, (नेस)
गैरआवासीय नेपाली संघ (एनआरएनए) को सातौं एसिया प्यासिफिक क्षेत्रीय बैठक तथा दोस्रो क्षेत्रीय महिला भेला आगामी जुलाई ६ र ७ मा म्यानमारको याङगुनमा आयोजना हु“दैछ । बैठकको तयारी तीव्र गतिमा अघि बढीरहेको एसिया प्यासिफिक क्षेत्रका किरणविक्रम थापाले जानकारी दिनुभयो । विशेषतः एसियाली मुलुकमा रहेका गैरआवासीय नेपालीहरुको सहभागितामा नेपालमा लगानी प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ बैठक आह्वान गरिएको हो ।

यसपटकको बैठक ‘नेपालको समृद्धिका लागि डायस्पोरोको भूमिका’ भन्ने विषयमा केन्द्रित हुने थापाले बताउनुभयो । यस्तै बैठकमा ठूला–ठूला आयोजना एवम् व्यवसायको लगानीमा भन्दा पनि साना तथा मझौला व्यवसायको लगानी र त्यसमा देखिएका नीतिगत अप्ठेरा अनि सम्भावनाबारे विशेष छलफल गरिनेछ जनाइएको छ ।

यस्तै एसियाली मुलुकका श्रम बजारमा नेपाली श्रमको प्रयोगमा रहेका समस्या पहिचान गर्दै समाधानका लागि पनि छलफल गरिने थापाले जानकारी दिनुभयो । विगतमा गरिएका निर्णय र प्रतिबद्धतालाई हामीले कति पूरा गर्न सक्यांै या सकेनौं भन्ने समिक्षासमेत बैठकमार्फत गरिनेछ । नेपालको समृद्धिमा डायस्पोराको भूमिका कृषि, पर्यटन, एसिया प्यासिफिक क्षेत्रमा नेपालीको लागि श्रम बजार, त्यहा“का युवा तथा महिलाको सशक्तिकरण लगायत विषयमा पनि घनीभूत छलफल हुने थापाले बताउनुभयो ।

बैठकमा म्यानमारसहित थाइल्यान्ड, चीन, हङकङ, जापान, मकाउ, मलेसिया, फिलिपिन्स, सिंगापुर र साउथ कोरियासहितका एसिया प्यासिफिक क्षेत्रका सदस्य राष्ट्रलगायत अन्य राष्ट्रका पदाधिकारीको समेत सहभागिता रहनेछ ।