दोगडाकेदारका ३ वडा पूर्ण संस्थागत सुत्केरी घोषणा

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
बैतडीको दोगडाकेदार गाउँपालिका गाउँपालिकाका ३ वटा वडा घरमा हुने सुत्केरी शुन्य सुत्केरी तथा पूर्ण संस्थागत सुत्केरी वडा घोषित भएका छन् । शुक्रवार वडा नं ८ कटौजपानीलाई शुक्रवार पूर्ण संस्थागत सुत्केरी घोषणा गरिएसंगै घोषणा वडाको संख्या ३ समेत पुगेको छ ।

वडाभरीका गर्भवती महिलाहरुले गएको एक बर्ष यता स्वास्थ्य संस्थामै आएर सुरक्षित रुपमा बच्चा जन्माएकाले वडालाई घरमा हुने सुत्केरी शुन्य वडा घोषणा गरिएको हो ।
गतबर्ष वडामा रहेको सम्पूर्ण ५६ गर्भवती महिला र चालु आर्थिक बर्षमा गर्भवती रहेका ३० गर्भवती महिलाले स्वास्थ्यसंस्थामै आएर बच्चा जन्माएको जनाएको छ ।

वडालाई एक कार्यक्रममा साथ पुर्ण संस्थागत सुत्केरी घोषणा गरिएको हो । वडा अध्यक्ष भक्त वहादुर विष्टको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका अध्यक्ष चक्र कार्की तथा विशिष्ट अतिथी गाउँपालिका उपाध्यक्ष पार्वती कार्की रहनुभएको थियो । यसअघि गत शुक्रवार दोगडाकेदार गाउँपालिकाको वडा नं ५ तथा गत बर्ष वडा नं ४ लाई पूर्ण संस्थागत सुत्केरी घोषणा गरिएको थियो ।

गर्भवती आमाहरुले नेपाल सरकारको प्रोटोकल अनुसार चार पटक गर्भजाँच गरेको, टीटी खोप लगाएको, नियमित आइरन चक्की खाएको लगायतका पूर्ण संस्थागत सुत्केरीका मापदण्ड पूरा समेत वडाले पुरा गरेको छ ।

मातृमृत्युदर र नवजात शिशुमृत्युदर घटाउने उद्देश्यले गाउँपालिकाले पूर्ण संस्थागत सुत्केरी अभियानलाई जारी राखेको दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीको भनाई छ ।

पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणापछी मातृमृत्युदर र नवजात शिशुमृत्युदरमा कमी आउने दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले बताउनुभयो ।

गाउँपालिकाका अन्य वडालाई पनि निकट भविष्यमै घरमा हुने सुत्केरी शुन्य घोषणा गरिने गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताउनुभयो ।
मातृशिशुमृत्युदर घटाउने उद्देश्यले गाउँपालिकाले १ लाख ६० हजारको मातृशिशु आकस्मीक कोषको समेत स्थापना गरेको छ ।