बाह्रविसेको पाँचौ नगरसभाः गाउँ–गाउँमा सेवा, प्रकोपपीडितलाई सम्पति कर मिनाहा !

0
Shares

नानीराम नेपाल, सिन्धुपाल्चोक ।

५२ करोड बढिको बजेटसहित बाह्रविसे नगरपालिकाले आगामी वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार पाँचौ नगरसभा गर्दै बाह्रविसे नगरपालिकाले ५२ करोड ५० लाखको बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

शिक्षा, स्वास्थ्य, सडक र कृषिलाई बाह्रविसे नगरपालिकाले प्राथमिकतामा राखेको छ । जहाँ विद्यार्थी त्यहाँ शिक्षकको नारासहित बाह्रविसे नगरपालिकाले स्थानीय तहमा शिक्षक दरवन्दी मिलान र समायोजनको योजना अघि सारेको छ । दरवन्दी अभावमा रहेका विद्यालयहरुमा स्वयंसेवक शिक्षकको अवधारण समेत नीति कार्यक्रममा ल्याइएको छ ।

स्वास्थ्य सेवामा नगरवासीको पहुँच वृद्धिका लागि बाह्रविसेले घुम्ती स्वास्थ्य शिविरको नीति लिएको छ । घरदैलामै स्वास्थ्य पहुँच कार्यक्रम अन्तर्गत नगरभित्रका प्रत्येक वडामा घुम्ती स्वास्थ्य शिविर संचालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । एक घर एक घाराको योजनादेखि एक वडा एक खेलमैदानको पनि कार्यक्रम ल्याइएको छ । पर्यटकीय संभावना बोकेका स्थानहरुको पहिचान गर्दै पर्यटन प्रवद्र्धनका कायृक्रम संचालन गर्ने नीति कनर्यक्रममा उल्लेख छ ।

नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर निमफुन्जो शेर्पाले टुङटुङ खोला, सुँगुरे तथा घुँडे क्षेत्रमा रक क्लाइम्बीङ र क्यानोनिङको सम्भाव्यता अध्ययन र आवस्यक पुर्वाधार निर्माण गरिने बताउनुभयो । यूवा स्वरोजगारका लागि बिदेशबाट फर्किएका यूवाहरु र बेरोजगार यूवाहरुको तथ्यांक संकलन गर्दै उनीहरुका लागि स्वरोजगारमुखी सीप र तालिम दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । कृषिक्षेत्रलाई व्यवसायीकरण गर्दै उत्पादन वृद्धि गर्नेमा बाह्रविसेले जोड दिएको छ ।

माटो परीक्षण गरि उपयुक्त बालीको खेति गर्दै उत्पादन वृद्धिका कुरा नीति कार्यक्रममा समावेश छन् । व्यवसायिक क्षेत्रमा लाग्न चाहने यूवाका लागि आवस्यक तालिम र यन्त्र उपकरणको व्यवस्था गर्ने समेत नीति लिइएको मेयर निमफुन्जो शेर्पाले बताउनुभयो ।

गाउँमै सिहँदरवारको नारालाई व्यवहारमै देखाउन बाह्रविसे नगरपालिकाले गाउँ गाउँमा पुगेर सेवा प्रवाहको नीति लिएको छ । एकीकृत घुम्ती शिविर संचालन गरि गाउँ टोलमै पुगेर नगरका सेवा दिइने कुरा नीति कार्यक्रममा उल्लेख छ ।
दैवी प्रकोप तथा प्राकृतिक विपतबाट पीडित ब्यक्ति तथा घरलाई आगामी आर्थिक वर्षमा सम्पति कर मिनाहाको नीति लिइएको उपमेयर शुशिला पाख्रिनले बताउनुभयो ।