भारतीय चिठ्ठासहित कारोबारी पक्राउ

0
Shares

नेपाल समाचारपत्र, भद्रपुर ।

नेपालमा प्रतिबन्धित भारतीय चिठ्ठा,मोटरसाइकलसहित एक भारतीय नागरिकलाइ प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय भद्रपुरले चेकजाँचको क्रममा विहीबार भद्रपुर ६ स्थित भानुनगर नजिकैबाट भारत दार्जेलिङ् डेङगुजोतका २८ वर्षिय मोहमद् एनसउललाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनको साथबाट प्लाष्टिको झोलामा लुकाइ रहेको वेस्ट बङ्गाल र नागाल्याण्डको १ सय २० ठेली भारतीय चिठ्ठा बरामद गरिएको जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । कारोबारीले भद्रपुर ,चन्द्रगढीका विभिन्न पसलहरुमा बिक्रीका लागि ल्याएको बताएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यत्ति, भारतीय नम्बर प्लेट भएको डब्लू बी ७४ए भी ५२९६ नम्बरको हर्नेट मोटरसाइकल र बरामद चिठ्ठालाइ जिल्ला प्रहरी कार्यालय बुझाइएको वडाका इन्सपेक्टर यमकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रत्यक्षदर्शीका अनुसार चिट्ठा बेच्ने भारतीय नागरिकहरू लुकिछिपी पसल–पसलमा गएर तथा चिट्ठा खेल्ने सम्बन्धित व्यक्तिलाई नै भेटेर सुटुक्क चिट्ठा बिक्री गर्ने गरेको बताउँछन् । प्रहरीको निगरानी बढेसँगै भारतबाट खुलेआम रुपमा चिट्ठा बिक्री गर्न नेपाल नआए पनि नेपालका चिट्ठामा लत बसिसकेकोहरूको अनुरोधमा लुकाई छिपाई भारतीय चिट्ठा नेपाल भित्रिने गरेको छ ।

मुख्यगरी झापाको सदरमुकाम भद्रपुर र चन्द्रगढीमा बढी मात्रामा भारतीय चिट्ठा खरिद बिक्री हुने गरेको छ । भद्रपुरको मोहपाल धर्मशाला आसपास, नगरपालिका कार्यालय आसपास, कामेश्वर मार्केट ,भाडा पसल जस्ता स्थानमा भारतीय चिट्ठा खरिद बिक्री हुने गरेको छ ।

पक्राउ परेका व्यक्तिहरू क्यारियर मात्र भएको र खेल्नेहरू नेपालमै प्रशस्त भएकोले उनीहरूलाई प्रहरीले छुन पनि नसक्ने स्थानीयको भनाई छ ।

भद्रपुरमा भारतीय चिट्ठा खेल्ने गिरोह नै छ । उनीहरूलाई पक्राउ गरी कानूनी कारबाही नगरेसम्म भद्रपुरमा भारतीय चिट्ठाको धन्दा बन्द नहुने केही व्यापारी बताउँछन् ।

चिट्ठा ऐन, २०२५ को दफा २ मा नेपाल सरकारको अनुमति दिएकोमा बाहेक कसैले चिट्ठाको खरिद बिक्री गर्ने काम गर्न वा गराउन नपाउने साथै ६ महिनासम्म कैद वा दुवै सजाय हुने स्पष्ट उल्लेख गरिएको छ ।