भारतले धौलीगङ्गा बाँध खोल्दा नेपालका चार जिल्लामा खतरा


काठमाडाैं । भारतले उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लास्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध बुधबार रातिदेखि खोलिदिएको छ । एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावरस्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार राति १२ बजेदेखि बाँध खोलिएको हो ।

बाँध खोलेसँगै महाकाली नदीमा जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रमा जोखिम हुने भएकाले सतर्कता अपनाउन बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले आग्रह गरेका छन् ।

महाकालीको तटीय क्षेत्र पर्ने बैतडीको सेरादेखि कुस्मतघाटसम्मका नागरिकलाई नदी छेउछाउ आसपास नजान अनुरोध गरिएको उनले बताए । बाँध बिहीबार बेलुकासम्म खोलिने भएको भए पनि शुक्रबारसम्म पनि पानीको सतह घटबढ भइराख्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्नसमेत अनुरोध गरिएको छ ।

यस्तै दार्चुलाको व्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्म तटीय क्षेत्रमा खतरा हुने भएकाले उक्त क्षेत्रका नागरिकलाई सतर्क भएर रहन दार्चुलाका प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले बताए ।

दार्चुलाको दत्तुमा रहेको पूर्व सूचना प्रणालीका अनुसार बिहीबार बिहान ६ बजे पानीको सतह ३.४ मिटर पुगेको थियो भने बिहान ७ः३० बजे घटेर २.८ मिटर पुगेको छ । धौलीगङ्गा बाँध खोलेपछि दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्ने भएकाले उक्त क्षेत्रका नागरिकलाई नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्नसमेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् ।