गैससमा हुने राजनीतिक हस्तक्षेपले योग्य व्यक्तिलाई किनारा लगाएको छ

9.78k
Shares

टीका दाहाल
टीका दाहाल महिला अधिकारकर्मीका रुपमा परिचित हुनुहुन्छ, खासगरी अपांगता भएका महिलाका विषयमा केन्द्रित रहेर पैरवी गर्नु उहाँको पहिचान हो ।

उहाँले राष्ट्रिय अपांग महासंघमा उपाध्यक्ष र महासचिवका रुपमा सात वर्षसम्म सेवा गर्नुभयो । दुई दशकभन्दा लामो समयदेखि यस क्षेत्रमा समर्पित दाहालसँग राजनीतिक हस्तक्षेपका तीता अनुभवहरु छन् । प्रस्तुत छ, दाहालसँग गरिएको कुराकानी ।

राष्ट्रिय अपांग महासंघमा रहँदा कस्ता चुनौतीको सामना गर्नुभयो ?
महिलाले कार्यकारी भूमिकामा काम गर्न सक्नदैनन्, रात–विरात खट्न सक्दैनन्, निर्णय गर्ने क्षमता कमी हुन्छ भन्ने आम मानिसको धारणाबाट म पनि अछुतो थिइनँ । अझै पनि मूलप्रवाहका संघ–संस्थामा महिलालाई उपाध्यक्ष, कोषाध्यक्ष पदमै सीमित राख्ने चलन छ ।

तसर्थ मैले पूर्व पुरुष महासचिवहरुको भन्दा बढी काम गर्नुपर्दछ र आफूलाई अब्बल सावित गर्नुपर्दछ भन्ने दवाव आफैंले महसुस गर्थे र भृकुटीमण्डपमा रहेको केन्द्रीय कार्यालयलाई नजिकै पारेर पुतलीसडकमा आफ्नो कोठा पनि सारेकी थिएं जसबाट मलाई दौडधुप गर्न र समय बचत गर्न निकै सजिलो भएको थियो । विशेष गरी साना–साना मानवीय कमजोरीलाई पनि महिला भएकै कारण भएको भन्ने आरोप लाग्ने, माइनुट लेख्दा सामान्य रसो दिर्घलाई समेत कमजोरी भयो भन्ने, पूरुष साथिहरुले प्रतिष्पर्धिको रुपमा लिनु, अपांगता भएका महिला विरुद्धका हिंसाका घटनाहरुमा पूरुष सहकर्मिहरुले सहयोग गरे पनि म महिला भएको कारण आफूले मात्र खुलेर बोल्नु पर्ने र सम्पूर्ण जिम्मेवारी उसैको हो भन्ने ठान्नु आदि, सजिलो र चुनौती सामना नगर्नु पर्ने काम त जसले पनि सहजै गर्न सकिहाल्छ नि, मैले भोगेका चुनौतीहरु हुन ।

ती चुनौतीका बाबजुद पनि मैले कार्यालयभित्र गर्नुपर्ने प्रशासनिक काम, सिफारिस, लेखन, समन्वय, सञ्चार आदिलाई व्यवस्थापन गरेर पनि बाहिरी वकालत पैरबीका कामहरुमा संगसंगै नेतृत्व गरें । सफलतापूर्वक महासचिवको रुपमा कार्य गरिसके पछि सदस्यहरुको मन जितेर पुनः उपाध्यक्षमा निर्वाचित भएं । महासंघको दुबै निर्णायक पदहरुमा रहंदाको अनुभवमा आफ्नै कुर्सीमा बसिरहंदा कोही सेवाग्राही या सरोकारवालाहरु कार्यालयमा आउंदा महासचिव खै, उपाध्यक्ष खै भनेर सोध्नुहुन्थ्यो । मैले आफूलाई पटक पटक चिनाउनुपर्ने अवस्था पनि थियो । साथ, फोन गर्दा पनि ठूलो पदमा पुरुष नै त हुन्छन् भन्ने मान्यता राख्नुहुन्थ्यो कि के हो, हेल्लो टीका सर बोल्नु भएको हो भन्नुहुन्थ्यो । महिलामाथि हेर्ने दृष्टिकोण नै विभेदकारी भएको सूचक थियो यो ।

तपाईं महासंघमा अध्यक्ष बनेर आउनुहोला भन्ने धेरैको अनुमान पूरा भएन । क्षमता नपुगेर हो कि महिला भएका कारण हो ?
मैले अपांगताका क्षेत्रमा काम गर्न शुरुवात गरेको झण्डै २२ वर्ष भएछ । शुरुवातका दिनमा आफूसंग खासै योग्यता र अनुभव थिएन र काठमाडौंमा कसैलाई चिनेको पनि थिइनँ तर पनि केही सीप हातमा लिएर काठमाण्डौंमा जागिर खोज्दा मैले भोगेको पीडा र महिला भएकै कारण हरेक पलमा महसुस गर्ने असुरक्षाका कारण पनि प्रतिवाद गर्दागर्दै विभेदविरुद्ध लड्दालड्दै अधिकारकर्मी भइएछ ।

सुरुवातमा अपांगता भएका यौन हिंसामा परेका दिदि बहिनीलाई न्याय दिन र आफूजस्तै विभेद खेपिरहेका महिलाहरुलाई संगठित गरी सशक्तीकरण गर्ने समाज परिवार र राज्यमा समेत जनचेतना फैलाउने उद्देश्यले साथीहरुसंग मिलेर संस्था खोल्ने निर्णय गरियो । विस्तारै संस्था स्थापित हुदै गयो र संस्थाले गरेका कामको प्रचार प्रसार हुदै धेरै दिदि बहिनीले न्याय पाएको आश्रय पाएको बारेमा सूचनाहरु वाहिर आउन थालेपछि राष्ट्रिय अपांग महासंघ नेपालको नेतृत्वमा आउनुपर्छ भन्ने माग बढे पछि मैले आफ्नो संस्थामा साथिहरुलाई नेतृत्व हस्तान्तरण गरी महासंघमा महासचिवको रुपमा कार्यरत रहें ।

आफ्नो कार्यकालमा राम्रो प्रभाव पार्न सफल भए पछि पुन उपाध्यक्षको रुपमा सक्रियता पूर्वक जिम्मेवारी बहन गरें । आफू गाउंबाट आएर तल्लो तहबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म आफ्नो प्रभाव फैलाउन सफल भएपछि म आफूलाइ पनि एक सक्षम अध्यक्षको दावेदार हो भन्ने ठानी उम्मेदवारी दिने निर्णय गरें । एक वर्षअघि देखि नै आफ्नो आन्तरिक तयारी गरी देशव्यापी अभियान शुरुवात गरें सदस्यहरुसम्म आफ्नो इच्छा व्यक्त गरें । तर विडम्बना जसलाई मैले मनदेखि सहयोग गरेर महासंघको नेतृत्वमा साथ दिएकी थिएँ उनै साथीहरुको हाउभाउ देखेर सशंकित हुन थालें । तपाईं जित्नुहुन्न भन्ने राम्रो माहोल छैन भनेर उनीहरु निरुत्साहित बनाउन थाले । तर धेरै अरु साथिहरु र सरोकारवालाहरुको हौसला साथ र मायाले मभित्र हौसला र आँट कायम थियो । जता जांदा पनि राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा भने मेरो विकल्प नरहेको र निर्विरोध अध्यक्ष बनाउनुपर्छ भन्ने सुझावहरु आइरहेका थिए ।

दलीय प्रभावकै कारण तपाईं नेतृत्वमा नआएको हो ?
सामाजिक संघ संस्थामा सिधै राजनीतिक हस्तछेप हुने कार्य अत्यन्त गलत हो, तर आफुले रुचाएको आस्था र राजनीतिक दलमा आबद्ध हुन पाउने अधिकार सबै व्यक्तिको स्वतन्त्रतामा भर पर्छ, महासंघको गत चैत्रमा सम्पन्न निर्बाचनमा मविरुद्ध हालका अध्यक्षलाई जवरजस्ती उठाउने र जिताउने काम भयो र मलाई अन्तिम समयमा उम्मेदवारी फिर्ता गर्न लगाइयो ।

त्यस बेला केवल म एक्लो महसुश गरिरहेको थिएँ । निरीह भएर चुपचाप बाटो खाली गरिदिएं । सामाजिक कार्य स्वयंसेवीजस्तो कार्य हो, कुनै नियुक्ति पाएर तलब पाउने र कसैको जबर्जस्त बलले गरिने कार्य हैन । आफूजस्तै पीडितहरुको साथी बनेर प्राप्त गरेको उपलब्धि र सृजना भएको स्थानलाई राजनीतिक दलको हस्तछेप भनि व्यक्तिहरुको समुहले आफ्नो स्वार्थ पुरा गर्ने अभिलाशाले मजस्ता स्वच्छ भावनाले जीबनै समर्पित गरेको व्यक्तिलाई बाहिर धकेल्दा अपाङ्गता अभियानलाई नै घाटा भएको छ ।

व्यक्तिलाई भन्दा पनि गलत संस्कार बसेको छ यस गलत कार्यबाट आउने युवा पिंडी साथै अबसरको लागि पालो पर्खिरहेका अगुवाहरुमा नै नैराश्यता छाएको महसुश मैले गरेकी छु, त्यति मात्र हैन महिलालाइ आम रुपमा कमजोर हुन्छन् भनिन्छ, फेरि संगैसंगै काम गर्ने सक्षम भएमा पनि उनीहरु निर्णय गर्न र नेतृत्व लिन भने सक्दैन् सहायक भूमिकामा मात्र फिट हुन्छन् भनिन्छ, यदि पूर्ण रुपमा सक्षम भएमा त्यो त अति महिलाबादी भै छुची कडा छे भनेर आरोप लाउने गरिन्छ त्यो मेरो लामो अनुभबको तितो भोगाइ हो र आम महिला अधिकारकार्मीलाइ लाग्ने आरोप हो । वर्तमान अध्यक्षलाई जागिर बचाउने कि महासंघको वकालत पैरबीजस्ता अभियानमा लाग्ने गम्भीर प्रश्न उत्पन्न भएको छ । निष्कर्षमा भन्नुपर्दा हाम्रो देश अझै पनि पितृसत्ताले गांजेको छ । समग्रतामा त निर्णायक तहमा महिलाको नेतृत्वलाई सहजै स्वीकार गर्न कठिन देखिन्छ भने अपांगता समुदाय भित्र अझै बढी लैंगिक विभेद र महिलाप्रति नकारात्मक रहेको छ ।

अपांग महिलाले भोग्नुपरेका विशेष समस्याका बारेमा केही उदाहरण छन् कि ?
यदि घरमा छोरी जन्मिन् भने अझै पनि खासै अभिभावकमा खुसी छाउंदैन भने त्यो छोरी अपांगता भयो भने त आकासै खसे जस्तो बोझ ठन्छन अभिभावकहरु । अन्य सन्तानको लागि हुर्कदै जादा उसको शिक्षा, लालन पालन, जिविकोपार्जनको जोहो सानै बाट बाउ आमा ले गरेको पाइन्छ तर अपांगता भएको छोरी या महिलाको विषय सधैं टाउको दुखाइ बनिरहेको हुन्छ उ कसैको भविष्यको सहारा, देशको कर्णधारमा गनिदैन बरु बाबुआमा नै भन्न थाल्छन कि हामी बाचुन्जेल त यसको हेरचाह हुन्छ सहारा हुन्छ मरेपछि विस्यार हुन्छे बरु हामी मर्नुभन्दा अगाडि मरे हुन्थ्यो भन्ने कामना गर्न थाल्छन् ।

अन्य व्यक्तिको उमेरसँंगै सपनाहरु बढ्छन् अवसरका ढोकाहरु खुल्छन्, परिवार साथीभाइ साथ पाउंदै जान्छन् तर अपांगता भएकी महिलाका उमेरसंगै तनावहरु बढ्दै जान्छन् सपनाहरु तुहिंदै जान्छन् ।

गैससमाथि राजनीतिक दलको घूसपेठ र प्रभावलाई कसरी हटाउने ?
सामाजिक संघसंस्था र अभियानहरुमा राजनीतिक हस्तक्षेप हुनु अत्यन्त गलत कुरा हो । यसबाट के हुन्छ भने, योगदान गरेको जीवनभरि समाज सेवामा समर्पित गरेको योग्य व्यक्ति वाहिरिने र अयोग्य र गलत व्यक्ति आन्दोलनको अगुवा हुन्छ उबाट खासै परिवर्तनको आसा गर्न सकिन्न । हो राजनीतिक दलहरुमा अपांगता भएका व्यक्ति सदस्य बन्नुपर्छ योगदान गर्नु पर्छ र नेतृत्वको हक जमाउनु पर्दछ । म आफू पनि सानै उमेर देखि कुनै एक दलमा सदस्य भएर योगदान गरिरहेको व्यक्ति हुं र हाम्रो जस्तो अल्प विकसित देशमा त झन राजनीतिक परिवर्तनहरुबाट नै विकास र समृद्धि सम्भव छ भन्ने विश्वास गर्छु तर सामाजिक आन्दोलनमा सबै आस्थाका व्यक्तिको समस्यालाई सम्बोधन गर्न सक्नुपर्छ न कि कुनै दल विशेषले पक्षीय भएर सेवा सुविधा पाओस् । तसर्थ सामाजिक संस्था र राजनीतिक दल या दलको भातृ संगठनको भुमिका र स्थान फरक फरक हुन यो सबैले बुझ्नु जरुरी छ ।

आगामी दिनमा सम्बोधन गर्ने सवालहरु के देख्नुहुन्छ ? बुँदागत रुपमा बताइदिनुहुन्छ कि ?
महिलाको लागि भएका कÞानूनी व्यवस्था र आरक्षणमा अपांगताको सम्बोधन र आक्षण विशेषगरी राजनीतिक प्रतिनिधित्वमा हिंसा प्रभाबित महिलाको लागि न्याय दिलाऊन कÞानूनी संयन्त्र विकास हुनुपर्छ । प्रत्येक स्थानीय तहमा दुई जना अपांगता भएका व्यक्तिको रोजÞगारीमा सुनिश्चितता हुनुपर्छ । सबै स्कुल–कलेजहरू सामवेसी बनाई निशुल्क र अनिवार्य शिक्षाको सुनिश्चतता गरिनुपर्छ । प्रत्येक प्रदेश सरकारले एक अधिकार सम्पन्न बहुआयामिक नमुना स्रोतकेन्द्र स्थापना गरी परिवार र समुदायको अनिवार्य रेखदेख हुनुपर्छ ।

अपांगता भाएका ब्यक्तिले सञ्चालन गरेका हरेक उद्योग, सहकारी र उत्पादित सामग्रीको संकलन केद्र प्रत्येक प्रदेशमा खडा गरी स्थानीय तहमा सामुदायिक बजÞारको स्थापना गरिनुपर्छ । अपांगता भएका महिलाको यौन तथा प्रजनन स्वास्थ्यको लागि प्रत्येक स्थानीय तहका अस्पतालमा डेस्क स्थापना गरी सञ्चालन गÞरिनुपर्छ । अपांगता भएका सन्तानलाई हेला गर्ने अभिभावकलाई कार्यवाही गर्ने व्यवस्था मिलाउनुपर्छ ।