फेदीखोला गाउँपालिकाको लक्ष्य ‘डोकोमा होइन, ट्रकमा व्यापार’


अमृत अर्याल, स्याङजा ।
निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक कृषि प्रणालीमा रुपान्तरण गर्ने अभियान लिएको स्याङ्जाको फेदीखोला गाउँपालिकाले वडा नं २ खहरेलाई नमुना कागती गाउँको रुपमा विकास गर्ने भएको छ । गाउँपालिकाको युवा उद्यम कार्यक्रममा छानिएको जनजागृत युवा समूहले उक्त गाउँमा १ हजार २ सय बढि कागती उत्पादन गर्ने लक्ष्य राखेको छ ।

स्थानीय बजारदेखि देशैभर कागतीको माग बढ्दै गएको भन्दै आफूहरुले व्यावसायिक कागती खेती सुरु गरेको युवा समूहकी अध्यक्ष पार्वती अधिकारीले जानकारी दिनुभयो । २ वर्ष भित्र आफूहरुले यस क्षेत्रलाई कागती पकेट क्षेत्र बनाउने उद्देश्य रहेको बताउँदै अध्यक्ष अधिकारीले गाउँपालिकाको सहयोगले झनै हौसला प्रदान गरेको बताउनुभयो । गाउँपालिकाको युवा उद्यम कार्यक्रम अन्र्तगत यस समूहले उद्यमका लागि बिना व्याज ५ लाख रुपैयाँ ऋण पाएको छ । समूहका अनुसार गाउँपालिका भित्र मात्र दैनिक १० केजी भन्दा बढि कागतीको माग छ ।

कार्यक्रमको शुभारम्भ गर्दै जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख सीता सुन्दासले अन्य स्थानीय तह भन्दा फेदीखोला गाउँपालिकाले कृषिको क्षेत्रमा गरेको गतिविधी उल्लेखनीय रहेको बताउनुभयो । फेदीखोलाले जसरी नै अन्य पालिकाले कृषकलाई समेट्न र कृषिको आधुनिकीकरणका लागि नयाँनयाँ परियोजना लागु गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले गाउँपालिकाका कृषकहरुले निर्वाहमुखी उत्पादनलाई बदल्दै व्यावसायिक बनेकोमा खुसी व्यक्त गर्दै कृषकलाई प्रोत्साहन गर्न गाउँपालिकाले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । ‘आँफैलाई मात्र पुग्ने र बचे खुसेको उत्पादन मात्र बिक्री गर्ने मानसिकता परिवर्तन गर्नुहोस् ।’ कृषकलाई प्रोत्साहन गर्दै अध्यक्ष सुवेदीको भनाई थियो, ‘मेहनत गर्नुस, उत्पादन बढाउनुहोस ताकि तपाईंको उत्पादनको बजारीकरण गर्न मालबहाक ट्रकको व्यवस्था गर्नु परोस् ।’ कृषकका उत्पादनलाई बजारीकरण गर्न बजार र कृषी करिडोर निर्मााणार्थ गाउँपालिकाको विशेष सहभागिता रहने आश्वासन अध्यक्ष सुवेदीले दिनुभयो ।

गाउँपालिकाले यसअघि नै सुन जातको ५ हजार कागतीको बेर्ना र ३ हजार ५ सय कफीको बेर्ना वितरण गरिसकेको छ । कृषिलाई गाउँपालिकामा सबल बनाउने उद्देश्यअनुसार गाउँपालिकाले वडा नं ४ अन्तर्गतको आरुखर्क गाँउलाई नमुना असारे आलु खेतीको रुपमा विकास गरेको छ भने खहरे र भाटखोलालाई नमुना कफि गाउँको रुपमा विकास गर्ने अभियानमा रहेको छ । भाटखोलालाई माछापालन र फेदीखोला–२ तल्लो कुडुलेलाई बेमौसमी तरकारी खेतिको रुपमा अगाडि बढाइएको छ ।

कृषि समुहकी अध्यक्ष बनिन १८ वर्षीया पार्वती
अहिलेको आधुनिक पुस्ता जो देशमा कुनै रोजगारका अवसर देख्दैनन र बाहिरी देशलाई आफ्नो गन्तव्यको रुपमा योजना बुनिसकेका हुन्छन् त्यसमा पनि अब्बल विषयका विद्यार्र्थीहरु जसले देशभित्र कुनै करियर नै देख्न सक्दैनन्, त्यसको अपवाद बन्नुभएको छ जनजागृत युवा समुहकी अध्यक्ष पार्वती अधिकारी । जसले आफ्नो गाउँलाई कागतीको पकेट क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यका साथ गाँउलेहरुलाई समेटेर अगाडि बढिरहनु भएको छ । कृषि क्षेत्र भन्ने बित्तिकै हिच्किचाउने युवा पुस्ताको उदाहरण हुन अधिकारी । पोखराको राष्ट्रिय माध्यमिक विद्यालयमा विज्ञान संकायमा अध्यययनरत अधिकारी भन्नुहुन्छ,‘परम्परागत कृषि प्रणालीलाई आधुनिक प्रविधि सँग जोडेर नेपालको कृषि प्रणालीलाई रुपान्तरण गर्ने उद्देश्य छ ।’